सोमबार नेपाल-भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणाको नेतृत्वको एक प्रतिनिधि मण्डलले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेसँग भेट गरेको छ।
उक्त अवसरमा हाल नेपालको पर्यटन क्षेत्रको अवस्था र यसको विकासबारे छलफल भएको थियो।
सन् २०१८ को जुलाईमा भएको संयुक्त कार्यदलको बैंठकमा नेपाल र भारत दुवै देशले धार्मिक पर्यटनको प्रबन्धन गर्ने विषयमा छलफल गरेको थियो। सोही सन्दर्भमा संघले आफ्नो प्रयासमा हाल नेपाल-भारत अन्तर सीमा धार्मिक पदमार्गको विकाससम्बन्धी कार्य भइरहेको संघले पर्यटनमन्त्री आलेलाई जानकारी दिए।
यो धार्मिक पदमार्गको विकासका निम्ति नेपाल र भारतका धार्मिक पदमार्गसम्बन्धी विशेषज्ञहरूको साथ लिएर हाल दुई देशबीच ५ वटा धार्मिक पदमार्गहरू क्रमशः बुद्धिस्ट सर्किट, महाभारत सर्किट, रामायण सर्किट, शिवशक्ति सर्किट र शिख सर्किटको निर्माणको कार्य भइरहेको समेत संघले जानकारी गराए।
यसका लागि संघले नेपाल सरकारको तर्फबाट मन्त्रालयको पनि साथ र सहयोगको लागि अनुरोध गरेको छ।
प्रतिनिधि मण्डलमा संघको तर्फबाट अध्यक्ष सृजना राणा, उपाध्यक्ष सुनिल केसी, कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधान, कार्य समिति सदस्य करण चौधरी, महानिर्देशक केशब मान सिंह तथा उप निर्देशक मार्शल राठौरको सहभागिता थियो।
उक्त अवसरमा पर्यटनमन्त्री प्रेम बहादुर आलेले आफ्नो र मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न सकिनेमा प्रतिबद्धता जनाए।