चालु आर्थिक वर्षको छ महिनामा विभिन्न मुलुकबाट भित्रिने विप्रेषण (रेमिट्यान्स) घटेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार विप्रेषण आप्रवाह ५.५ प्रतिशतले घटेर चार खर्ब ६८ अर्ब ४५ करोड कायम भएको छ। अघिल्लो आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो।
विप्रेषण आप्रवाहको अवस्था अमेरिकी डलरमा हेर्दा ६.२ प्रतिशतले घटेर ३ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्ष अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको थियो।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत, व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने बढेको छ। राष्ट्र बैंकका अनुसार छ महिनामा १ लाख ६७ हजार ५१३ नेपाली युवा विदेशिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९ प्रतिशतले घटेको थियो।
त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले बढेको छ। यो अवधिमा एक लाख ३० हजार २१२ नेपालीले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो।