लमजुङमा मर्स्याङ्दी कोरिडोरअन्तर्गत निर्माणाधीन २२० केभी उदिपुर-मार्कीचोक-भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य ५० प्रतिशत सकिएको छ।
विविध कारणले निर्माण कार्यमा ढिलाइ हुँदा अझै ५० प्रतिशत निर्माण काम बाँकी रहेको आयोजनाका महाशाखा प्रमुख नारायण रेग्मीले बताए।
लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म यो प्रसारण लाइन पुग्ने रेग्मीले जानकारी दिए।
उनका अनुसार प्रसारण लाइनका लागि १ सय ९३ वटा टावर आवश्यक पर्नेछ। यीमध्ये हालसम्म १८ टावर खडा भइसकेको छ भने ४५ टावरको जग तयार गर्ने कार्य भएको छ।
‘दोर्दी कोरिडोरका आयोजनाको विद्युत् मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पुर्याउनका लागि ६ किलोमिटरसम्म यही प्रसारण लाइनको काम अघि बढिरहेको छ’, उनले भने ‘उदिपुरदेखि मध्य-मर्स्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ वटा टावर उठाइएकाले आजदेखि तार तान्ने कार्य भइरहेको छ।’
उनका अनुसार तार तान्ने काम दुई महिनाभित्रमा सम्पन्न हुनेछ। ६ किलोमिटर खण्डको निर्माण गत जेठभित्रै सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोनाको महामारीमा निषेधाज्ञालगायत विविध कारण निर्माण अवधि लम्बिएको उनले बताए।
आयोजनाका अनुसार ६ किलोमिटर खण्डबाहेक लमजुङकै राइनास नगरपालिकास्थित धमिलिकुवा आँबुखैरेनीदेखि भरतपुर खण्डमा पनि टावर निर्माणको काम भइरहेको छ। पैँतालिस टावरको काममध्ये लमजुङतर्फ ३५ र तनहुँतर्फ १० टावर उठाउने काम भइरहेको छ।
अठार वटा खडा भएको टावरमध्ये १७ उदिपुरदेखि मध्मर्स्याङ्दीसम्म र एक लमजुङकै फुलबारीमा खडा भएको छ। आयोजनाको तीन खण्डमा यतिबेला काम भइरहेको छ। त्यस्तै लमजुङ उदिपुर र भरतपुरमा गरी दुई वटा सवस्टेसन पनि निर्माण भइरहेको आयोजनाले जानकारी दिएको छ।
दुई सय २० केभीको उक्त आयोजनाको निर्माण कार्य सन् २०१८ जनवरी १७ गतेदेखि अघि बढेको र तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले सम्पन्न हुन नसकेको डिभिजन प्रमुख रेग्मीले बताए।
‘उक्त सम्झौताअनुसार तीन वर्ष नाघेपछि थप गरिएको समयावधि पनि सकिन दुई-तीन महिना मात्र बाँकी रहेको छ’, उनले भने ‘अझै निर्माण अवधि थपिने भएको छ।’
सो प्रसारण लाइन चाइना कम्पनी चिन्जा गुप्रले निर्माण गर्दै आएको छ।
रेग्मीका अनुसार आयोजना सम्पन्न गर्न पौने तीन अर्ब रूपैँया लाग्ने अनुमान गरिएको बताए।