यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा नियमित उडान गर्ने भएको छ।
एअरलाइन्सले फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको हो।
निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले साताको आइतबार र बिहीबार काठमाडौंदेखि सुकिलुम्बा उडान भर्न लागेको तारा एअरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।
धावनमार्ग कालोपत्रे भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एअरको संयुक्त पहलमा उक्त विमानस्थलमा साताको दुईवटा नियमित उडान हुन लागेको हो।
विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघि पनि वि.सं. २०७५ जेठ २१ गते तारा एअरको ट्विनेटर जहाजले परीक्षण उडान गरेको थियो। फागुन ११ देखि काठमाडौंबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२ः३० उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताए। काठमाडौंदेखि इलामसम्मको उडान अवधि करिब एक घण्टाको हुनेछ। हवाई यात्राको लागि हाल एकतर्फी भाडा नौ हजार रुपैयाँ कायम गरिएको छ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन बोर्ड तथा तारा एअरको पहलमा नियमित उडान सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गरे। आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने विश्वास समेत उनले व्यक्त गरे।
फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसहरूलाई हवाई यात्राको लागि सहज हुने विश्वास लिइएको छ।