नेपाल चेम्बर अफ कमर्सले भन्सारमा कारोबार मूल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको छ। राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलसँग बिहीबार भएको भेटवार्ताका क्रममा चेम्बरले वस्तुहरूको आयत-निर्यातमा भएको कारोबार मूल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको हो।
भन्सारमा सन्दर्भ मूल्य कायम हुँदा मूल्य अभिवृद्धि कर भ्याटमा समस्या देखिएको भन्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सन्दर्भ मूल्यका कारण समग्र राजश्वमा नै असर गरेको तथा हुण्डी कारोबार मौलाएको बताए।
बिल, बिजक प्रक्रियामा पनि कठिन भएको अध्यक्ष मल्लको भनाइ छ। मल्लले अनुगमन प्रणालीलाई एकद्धार व्यवस्थित एवं व्यवसाय मैत्री बनाउन पौडेल समक्ष आग्रह गरे।
भन्सार बिन्दुहरूमा हुने अनियमित कारोबारलाई नियन्त्रण गर्न तथा सीमा व्यापारलाई प्रभावकारी बनाउन सुराकीलाई उचित पुरस्कार तथा गलत तथ्य दिनेलाई दण्डित हुने व्यवस्था गर्न उनले अनुरोध गरेका छन्।
राजश्व चुहावट सम्बन्धमा थुनछेक गर्ने प्रावधानलाई वित्तीय जरिवाना गर्ने व्यवस्था गर्न समेत चेम्बरले सुझाव दिएको छ।
बैङिक प्रणालीमा ७ लाखभन्दा बढीको कारोबार गर्दा सबै विवरण पेश गर्नुपर्ने राष्ट्र बैंकको पछिल्लो निर्देशन पनि अव्यवहारिक तथा झन्झटिलो भएको अध्यक्ष मल्लले बताए।
साना तथा खुद्रा व्यवसायीको सहजीकरणका लागि ५० लाख रुपैयाँसम्मको सिलिङलाई वृद्धि गरि २ करोड पुर्याउन पर्ने उनको भनाइ छ।
महानिर्देशक पौडेलले व्यापार सहजिकरणका लागि सरकार प्रतिवद्ध रहेको बताए। चेम्बरको सुझावप्रति सरकारात्मक रहेको भन्दै उनले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिने समेत बताए।
व्यवसायिक सहजीकरणका लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने उनको भनाइ छ।