टेलिउपचार टिम, पहिलो पाइला नेपाल काठमाडौं शाखा र चन्द्रागिरी नगरपालिकाको सह-आयोजनामा चन्द्रागिरी नगरपालिका वडा नं २ मसिनेमा टेलीहेल्थ क्याम्प सम्पन्न भएको छ।
मसिनेका ६० भन्दा बढी स्थानीय बिरामीहरूले टेलीउपचार एपमार्फत विशेषज्ञ डाक्टरसँग स्वास्थ्य उपचार गराएका छन्। दुई सयभन्दा बढी बिरामीको उपस्थिति रहेको उक्त स्वास्थ्य शिविरमा डा. आशिष कुमार झा, स्वास्थ्यकर्मी भरत महर्जन, सिता थापा, अमित चौधरी लगायतका चिकित्सकले स्थानीयलाई प्रत्यक्ष सेवा दिए।
हाडजोर्नी तथा आन्तरिक रोग विशेषज्ञ डा. दिपेन्द्र शाह, महिला रोग विशेषज्ञ डा. आकृती भारती र जनरल फिजिसियन डा. लक्ष्मी पन्थीले बिरामीहरूलाई एपमार्फत निःशुल्क परामर्श उपलब्ध गराए।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरिको प्रमुख आतिथ्यतामा शनिबार उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा मेयर घनश्यामले टेलीउपचार टिमसँग सहकार्य गरेर आफ्ना सबै वडामा टेलीहेल्थ क्याम्प संचालन गर्न इच्छुक रहेको बताए।
टेलीउपचारका संयोजक सुरज गिरी आभासका अनुसार विशेषज्ञ डाक्टर र बिरामीबीचको दुरी कम गराउन तथा ग्रामिण भेगमा विशेषज्ञ डाक्टरी सेवा विस्तार गर्न टेलीहेल्थ क्याम्प संचालन गरिएको हो।
टेलीउपचार एप मार्फत मोबाइल फोन, टयाब्लेट तथा ल्याप्टपको प्रयोगले घर तथा अफिसमै बसेर आफ्नो स्वास्थ्य समस्या अनुरुपका डाक्टरहरूसँग स्वास्थ्य परामर्श लिन सकिन्छ।