कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले प्रदेशभित्रका साना जलविद्युत आयोजनाहरूको अवस्थाबारे जानकारी माग गरेका छ।
सोमबार ऊर्जासँग सम्बन्धित मन्त्रालय मातहतको कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल गरी जिल्लामा रहेको साना जलविद्युत आयोजनाहरूको अवस्थाको बारेमा जानकारी पठाउन मन्त्रालयले भनेको हो।
जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले कर्णालीको विद्युतका बारेमा यथार्थ चित्रण गर्नका लागि यो जानकारी माग गरेको बताएका छन्।
‘कुन जिल्लामा कति विद्युत आयोजना अलपत्र छन्, कति निर्माणको क्रममा छन् र कति सञ्चालनमा छन् भन्ने विषयमा उहाँले जानकारी माग्नुभएको छ,’ मन्त्रीका स्वकीय सचिव हेमन्त केसीले भने, ‘एक हप्ताभित्र यसको बारेमा सम्बन्धित कार्यालय प्रमुखहरूले जानकारी पठाइसक्नुपर्ने छ।’
सानो लगानीमा बनेका यस्ता जलविद्युत आयोजनाहरूको दिगोपना नदेखिएकाले आयोजनाहरूको अवस्थाका बारेमा जानकारी लिन खोजिएको हो। कार्यालयहरूबाट जानकारी आएपछि यी आयोजनाका समस्या समाधानका लागि पहल गरिने मन्त्री सिहंले बताएका छन्।
छलफलका क्रममा डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको बारेमा पनि जानकारी लिइएको छ। आयोजनाका निमित्त प्रमुख सञ्जय सापकोटाले आयोजनाको हालसम्मको प्रगति विवरण मन्त्रीसमक्ष पेश गरेका हुन्।