नेपाल चेम्बर अफ कमर्शले बाँझो जमिन उपयोग मार्फत कृषि उत्पादन अभियान सरू गर्ने भएको छ।
बजेट भाषणमा सरकारले बाँझो जमिनको उपयोग नीति अघि सारे पनि व्यवहारिक कार्यन्वयन हुन नसकेको भन्दै चेम्बरले खाली जमिनको उपयोग मार्फत कृषि उत्पादन वृद्धि गर्ने अभियान सुरू गर्न लागेको हो।
यसका लागि चेम्बरका ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायहरूसँग सहकार्य गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए।
'कृषि प्रधान मुलुकमा जमिन बाँझो राखेर अहिले पनि वार्षिक २ खर्बभन्दा बढीको आयत गरिरहेका छौं,' उनले भने, 'युवाहरूलाई व्यवसायिक खेतीतर्फ आर्कषित गर्न चेम्बरले आवश्यक समन्वय गर्नेछ।'
नेपालको कृषि क्षेत्रमा इजरायली अवधारणा अवलम्बन गर्न नीतिगत व्यवस्थाका लागि सरकारसँग पहल गर्ने पनि चेम्बरले निर्णय गरेको छ। नेपालका लागि इजरायलका राजदूत खनार गोदारसँग चेम्बरले इजरायलको कृषि उत्पादनको मोडलबारे जानकारी समेत लिएको छ।
इजरायलमा कृषिमा लाग्ने नागरिकलाई सरकारले १ सय वर्षका लागि जमिन उपलब्ध गराउनुका साथै लगानी र अन्य प्राविधिक सहयोग समेत गरिदिने भएकाले उत्पादनमा अग्रणी बन्न सफल भएको राजदूत गोदारले बताए।
इजरायलमा १ दशमवल ७ प्रतिशत नागरिक मात्रै कृषिमा संलग्न भएपनि उच्चतम प्रविधि मार्फत मुलुकमा खाद्यान्न आत्मर्निभर तथा निर्यात गर्ने देशको हैसियतमा पुगेको राजदूत गोदारको भनाइ छ।
इजरायल चेम्बर अफ कमर्शसँगको सहकार्य मार्फत सातै प्रदेशमा अनुसन्धान तथा समन्वय केन्द्र खोल्न पहल गर्ने चेम्बरले बताएको छ।