विद्युत व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरू हुने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्ष रूपमा हुन नसकेको बैठक यसपटक भौतिक रूपमा नै हुन लागेको हो। विसं २०७६ असोज २७ र २८ गते संयुक्त निर्देशक समितिको बैठकमा भारतको बैंगलुरूमा भएको थियो।
यसअघिका अनौपचारिक बैठक श्रव्यदृश्यका माध्यमबाट आयोजना गरिएको थियो। भोलिदेखि सुरूदेखि सुरू हुने यस बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहतका निकायका अधिकारी सहभागी हुनेछन्।
यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ। बुधबारको बैठकमा सहसचिवस्तरीय समितिले एजेण्डा तय गर्नेछ। बिहीबार भने सचिवस्तरीय बैठक हुनेछ।
बैठकमा नेपालका तर्फबाट विद्युत व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गर्ने तयारी गरिएको छ।
नेपाल विद्युत प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत भारत निर्यात गर्ने प्रस्ताव गरेको छ। यसअघि प्राधिकरणले देवीघाट र त्रिशूली जलविद्युत् आयोजनाको कूल ३९ मेगावाट मात्रै निर्यात गर्ने अनुमति पाएको थियो।
निर्यातको अवसर नपाउँदा प्राधिकरणले गत मनसुनमा झण्डै रु पाँच अर्ब बराबरको बिजुली खेर गएको बताएको छ।
यस्तै, बैठकमा नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुनेछ।
आगामी मनसुनमा नेपालको बिजुली खेर जाने अवस्था आएकाले कुनै न कुनै कोणबाट सम्बोधन गर्ने गरी यस पटक प्रयास गरिएको सम्बद्ध अधिकारीहरूले बताएका छन्।
सो प्रसारण लाइन नेपाल र भारतबीच समान लगानीमा निर्माण हुने सम्झौता भइसकेको छ। कूल ४०० केभी क्षमताको सो प्रसारण लाइनको २० किलोमिटर खण्ड नेपाली भूभागमा पर्नेछ भने १२० किलोमिटर खण्ड भारतमा पर्नेछ।
विसं २०७६ असोजमा भएको संयुक्त निर्देशक समितिको बैठकले सो प्रसारण लाइन निर्माणमा बारेमा सहमति जुटाएको थियो।
यस्तै, कटैया कुशाहा १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट, रक्सोल–परवानीपुर प्रसारण लाइन, न्यू नौतनवा मैनिहा १३२ ककेभी प्रसारण लाइनको बारेमा समेत छलफल हुने बताइएको छ।
बैठकमा भारतीय कम्पनीले सङ्खुवासभामा निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजना र त्यसको प्रसारण लाइन निर्माणको बारेमा छलफल हुने मन्त्रालयले जनाएको छ।
यस्तै, भारतले नेपालसँग मिलेर ठूलो क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव राखेको छ। समान लगानीमा सरकारी स्वामित्वको कम्पनी खडा गरेर आयोजना निर्माणका लागि प्रस्ताव भारतको तर्फबाट पेस भएको र त्यसमा आवश्यक छलफल हुने बताइएको छ।
त्यस्तै, भारतको प्रसारण प्रणाली प्रयोग गरेर बङ्गलादेश विद्युत निर्यात गर्ने बारेमा समेत दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा छलफल हुने छ।
विसं २०७६ मा भारतको बैंगलुरूमा भएको बैठकमा पहिलो अन्तरदेशीय ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि, भारतीय ग्रीड प्रयोग गरी नेपाल र बङ्गलादेशबीच विद्युत आदान प्रदानलगायत नौ वटा विषयमा छलफल भएको थियो।