यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुनन्द सुकिलुम्बा एअरपोर्टमा आजबाट व्यावसायिक उडान सुरू गरेको छ।
फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग कालोपत्रे बनिसकेपछी तारा एअरको र इलाम जिल्लाकै पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न भएको हो।
तारा एअरको नाइन एनएलओ टुइनअटर वायुयान बुधबार बिहान १०:४० बजे त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट उडेर यसले दिउँसो ११:२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको थियो।
तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा उक्त उडान गरेको हो।
पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाई, होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाह सहितको पर्यटन व्यवसायी लगायत यात्रु तथा तारा एअरका प्राविधिक टोली गरी १४ जना यात्रुहरू पहिलो व्यवसायिक उडानमा सहभागी भएका थिए। इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत लगायत पर्यटन व्यवसायीहरूले उक्त उडानमा सहभागीहरूलाई स्वागत गरेका थिए।
६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाई रहेको यो विमानस्थलमा पक्की धावनमार्ग बन्नु अघि २०७५ जेठ २१ गते तारा एअरले नै पहिलो परीक्षण उडान गरेको थियो।
आजबाट पहिलो व्यवसायिक उडान सुरू गरेको तारा एअरले आइतबार र बिहिबार गरी हप्तामा दुई दिन नियमित उडान गर्ने तारा एअरका प्रवक्ता सुदर्शन बर्तौला बताए। उनका अनुसार कम्पनीले यो गन्तव्यमा प्रमोसनल फेयरअन्तर्गत ८ हजार ७ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ। यो गन्तव्यको उडान दुरी करिब एक घण्टाको छ।