दोलखाको सैलुङ डाँडामा साहित्यिक महोत्सव हुने भएको छ। ऐतिहासिक एवं पर्यटकीय गन्तव्य सैलुङडाँडाको प्रचारप्रसारका लागि फागुन २० गते शुक्रवार सैलुङ साहित्यिक-साँस्कृतिक महोत्सव २०७८ आयोजना हुने सैलुङ गाउँपालिकाले जनाएको छ।
गाउँ कार्यपालिकाको ७३ औं बैठकले पर्यटकीयस्थल सैलुङडाँडामा साहित्यिक महोत्सव आयोजना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिए।
उनकाअनुसार कला र साहित्यको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने र राष्ट्रिय तथा सैलुङको प्रचार विश्वमा गराउने उद्देश्यले महोत्सव गर्न लागिएको हो। महोत्सवका लागि गाउँपालिकाले १५ लाख खर्च गर्नेछ।
महोत्सवमा देशभरका चर्चित साहित्यकार र कलाकारहरुको उपस्थिति रहनेछ। ‘स्थानीय सँस्कृति झल्कने विभिन्न नृत्यहरु देखाइनेछ। स्थानीय तह गठनपश्चात शैलुङको विकास वृत्तचित्र तथा फोटोको दृश्यचित्र पनि देखाइनेछ’ उनले सेतोपाटीसँग भने। महोत्सवको उद्घाटन नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।
गाउँपालिकाले सैलुङको प्रवद्र्धनक लागि यसअघि पनि महोसत्व गरेको थियो । तर साहित्यको माध्यमबाट भने यो पहिलो पटक हो।
सैलुङ डाँडा रमणीय पर्यटकीय स्थलको रूपमा परिचित छ। समुद्री सतहबाट करीब ३ हजार ४ सय मिटर उचाईमा रहेको सैलुङ डाँडामा एक सय वटा मनमोहक सुन्दर थुम्का छन्।