पेट्रोलियम व्यवसायीहरूले सरकारले वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम पदार्थको ढुवानी भाडा वृद्धि गर्नुपर्ने बताएका छन्।
शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी सरकारले वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम पदार्थको ढुवानी भाडा वृद्धि गर्नुपर्ने बताएका हुन्।
नेपाल सरकारले यातायात क्षेत्रमा साउन एक गतेदेखि लागू गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा समेत ढुवानी भाडा लागू गर्नुपर्ने आयल निगमद्वारा गठित अध्ययन समितिको प्राप्त प्रतिवेदन अनुसारको ढुवानी भाडा तुरून्त लागू गर्नुपर्ने व्यवसायीको माग छ।
नेपालमा पेट्रोलियम ऐन नभएको हुँदा तत्काल पेट्रोलियम ऐन बनाई लागू गर्नुपर्ने व्यवसायीहरूले बताएका छन्।
निगमको एलपिजी विनियमावली, बिक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायी संस्थाको सुझाव लिई तत्काल परिमार्जन सहित संशोधन गर्नुपर्ने व्यवसायीको माग छ।
व्यवसायीहरूले आफूहरूको माग १५ दिन भित्र पूरा गरिदिन सरकारलाई आग्रह गरेका छन्। माग पूरा नभए आन्दोलनमा उत्रिने चेतवानी पनि उनीहरूले दिएका छन्।