पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सात वटा ठूला शहरसम्म विस्तार भएको छ।
निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनि बुद्ध एयरले पोखरालाई सात वटा ठूला शहरमा हवाई सञ्जालमार्फत जोडेको हो। बुद्धले सातौं शहरको रूपमा शनिवार पोखरा–जनकपुर सिधा हवाई उडान शुरू गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ।
बुद्धले साताको तीनदिन पोखरा–जनकपुर रूटमा उडान गर्ने बताएको छ। बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर सातामा तीनदिन (शनिबार, सोमबार र बुधबार) उडान गर्ने जानकारी दिए।
पहिलो चरणमा सातामा तीन दिन र यात्रु संख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको पनि बताए। बुद्धले १८ सिट क्षमताको जहाजबाट उडान शुरू गरेको छ।
‘आजबाट हामीले पोखराबाट जनकपुरमा फ्लाइट शुरु गर्यौं। अब हामीले निकट भविष्यमा विराटनगर र भद्रपुर शुरू गर्दैछौं। अहिले सामान्यतया प्यासेन्जर फ्लो धेरै राम्रो छ। अधिकांश प्यासेन्जर नेपाली नै छन्। विदेशीहरू आएको अवस्था छैन। कोभिडपछि प्यासेन्जरको फ्लो कम हुन्छ कि भन्ने थियो तर राम्रो भएको छ’, उनले भने, ‘कोभिडभन्दा अगाडिको स्थितिमा आइसकेको छ। बुद्धको पोखरा–काठमाडौं १२ वटा फ्लाइट हुन्छ । धनगढी, भैरहवा, जनकपुर, भरतपुर सिमरा गरेर १७ वटा फ्लाइट गर्दछौँ । सबै एयरलाइन्सको गरेर २१ वटा फ्लाइट छ । १२ सय जना प्यासेन्जर हुन्छन् ।’
बुद्धको पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम जनकपुर गएको थियो।
पोखरा–जनकपुरको उडानमा प्रतियात्रुु सबैभन्दा बढीमा ९ हजार ३ सय ६० र सबैभन्दा कम ४१ सय रूपैयाँ भाडा तोकिएको छ।
पोखरा–जनकपुर ५० मिनेटको हवाई यात्रा हुने बरालले बताए। बुद्धले पोखराबाट काठमाडौंसहित ठूला सहरसम्म सिधा हवाई उडान सञ्जाल बिस्तार गरेसँगै आन्तरिक पर्यटकको पोखरा आउजाउ बढने पनि बताइएको छ।