जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरू भएको छ।
नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा यो कार्यक्रम सुरू गरेको हो। जसअनुसार नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् (नारा) बीच तालिम सञ्चालनका लागि फागुन २३ गते सोमबार सम्झौता भएको छ।
सम्झौतामा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी तथा (नारा)का तर्फबाट अध्यक्ष गंगाप्रसाद नेपालले हस्ताक्षर गरेका छन्।
यो तालिमले जलयात्रा क्षेत्रमा थप नयाँ रोजगारी सिर्जना हुने परियोजनाका राष्ट्रिय संयोजक तथा बोर्डका कार्यकारी प्रमुख रेग्मीले बताए। सम्झौताअनुसार नाराले त्रिसुली, भोटेकोशी र कालीगण्डकी क्षेत्रमा गरी करिब एक सय जनालाई र्याफ्टिङ सम्बन्धी तालिम प्रदान गरिनेछ।
दुई सातासम्म सञ्चालन गरिने यो तालिमले स्थानीय स्तरमा जलयात्राको लागि नयाँ जनशक्ति तयार हुने अपेक्षा गरिएको नाराका अध्यक्ष गंगाप्रसाद नेपालले बताए। सम्झौता अनुसार जेठ १५ गते तीन वटै नदीमा तालिम सम्पन्न गरिनेछ। त्रिसुली नदीमा देशैभरबाट र अन्य दुई नदीमा त्यहाँकै स्थानीयलाई तालिम प्रदान गरिनेछ।
नाराकाअनुसार हाल नेपालमा करिब सात सय तालिम प्राप्त र्याफ्टिङ गाइडहरू छन् भने यसमा अप्रत्यक्ष रुपमा करिब २ हजारभन्दा बढि जनशक्ति आवद्ध छन्।
दुई वर्ष ६ महिना अवधिको यो परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कुल २० लाख ५० हजार अमेरिकी डलर (२४ करोड ९१ लाख ९८ हजार रुपैयाँ नेपाली) यसअघि नै छुट्याइसकेको छ।
यो परियोजनाले पहिलो चरणमा पर्यटन क्षेत्रका करिब ६ हजार पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइसकेको छ।
यस्तै, दोस्रो चरणमा विभिन्न पर्यटकीय पूर्वाधार निर्माण, पर्यटकीय जनशक्तिको क्षमता अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गरिने परियोजनाका जिविकोपार्जन विशेषज्ञ धर्मराज दवाडीको भनाइ छ।