माया मनोर बुटिक होटल हात्तीसारमा आयोजित दुई दिने 'विमेन लेड हाट-बजार' सम्पन्न भएको छ। फागुन २१ र २२ गते दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म चलेको हाट-बजारमा महिला व्यवसायीका ४० वटा स्टल थिए।
पर्यटन व्यवसायी तृषाग्नी शाक्यसँगै द पार्क बजारका सञ्चालक विशेषता श्रेष्ठ र निमा शेर्पा मानन्धरले ३ वर्षदेखि हाट-बजार सञ्चालन गर्दै छन्।
महिलाहरूको व्यवसाय प्रवर्द्धन आयोजना गरिएको हाट-बजारमा फरक क्षमता भएका र मानव बेचबिखनमा परी उद्दार गरिएका महिलाले निर्माण गरेका गहनाको विक्रेता काश्य, मैथिली कला सहितका सामग्री विक्रेता मिथिला हाउस, घरपालुवा जनावरको लागि बनाइएका ढाकाको कपडा विक्रि गर्ने ढ्व:, फ्लेभर्ड दहिको विक्रेता मिठो डेरी, रेज एन्ड नट्स लगायत स्टल थिए।
अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजना गरिएको २ दिने हाट-बजारमा पहिलो दिन युवा पुस्ताको उत्साहजनक सहभागीता रहेको आयोजक तृषाग्नी शाक्यले बताइन्। मार्च महिलाहरूको ऐतिहासिक महिना भएकाले हाट-बजार आयोजना गरिएको उनको भनाइ छ।
हाट-बजारमा लगानीका अवसर र चुनौतीका बारेमा केन्द्रित इन्भेस्टिङ वर्कसप पनि सञ्चालन गरिएको थियो। कार्यक्रमको दोश्रो दिन आइतबार नारीबादसम्बन्धी अभिनयात्मक कविता प्रस्तुति समेत रहेको आयोजक विशेषता श्रेष्ठले बताइन्।