डोल्पा पनि अब केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ।
विद्युतीकरण नभएका कर्णालीको डोल्पामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुतगतिले अगाडि बढेको हो। चालु आर्थिक वर्षको असार महिनाभित्र डोल्पामा केन्द्रीय प्रसारण लाइन पुर्याउने लक्ष्य लिएको बताइएको छ।
प्रसारण लाइन विस्तार गर्ने जिम्मेवारी लिएको सताग्री निर्माण सेवाले विगत ३ वर्षसम्म काम नगरेपछि विद्युत प्रसारण लाइनको काम रोकिएको थियो।
निर्माण व्यवसायीलाई छिटो काम गर्न अन्तिम अल्टिमेटम दिएको र काम नगरे विकल्पसमेत खोज्ने तयारी भएपछि डोल्पामा विद्युत पुग्ने आशा पलाएको हो।
कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले पटक-पटक ताकेता गरेपछि नेपाल विद्युत प्राधिकरणले असार मसान्तभित्र जसरी पनि डोल्पामा विद्युत पुर्याउने योजनाका साथ काम भइरहेको प्राधिकरण कर्णाली प्रदेशका प्रमुख शम्भु यादवले बताए।
सताग्री निर्माण सेवाले जाजरकोटको कुदु सव स्टेसनदेखि चौखा हुँदै डोल्पाको त्रिपुराकोटसम्म प्रसारण लाइन निर्माणको ठेक्का लिएको छ।
जिम्मेवारी लिए पनि कुनै पनि ठाउँँमा काम नगर्दा समस्या हुँदै आएको हो। डोल्पामा विद्युतीकरण गर्नका लागि चौखामा सवस्टेशन निर्माण कार्य जारी छ। हप्ता दिनभित्र डोल्पाको त्रिपुराकोटमा सव स्टेसन निर्माण गर्नका लागि बोलपत्र खोल्न थालेको प्रमुख यादवले बताए।
असार मसान्तभित्र डोल्पा र मुगुमा बत्ती बाल्ने काम पूरा गरेरै छाड्ने उनले बताए।
निर्माण व्यवसायीले काम नगरे प्राधिकरणले आफ्नै स्रोतबाट काम गरेर भए पनि डोल्पासम्म केन्द्रीय प्रसारण लाइनमा पुर्याउने लक्ष्य लिएको उनको भनाइ छ।
स्थानीय जैरीगाड खोलाबाट उत्पादन गरिएको विद्युतले डोल्पाको सदरमुकाम दुनै लगायत विभिन्न ठाउँमा काम गदै आएकोमा पटक–पटक खराबी हुँदा स्थानीयबासी सास्ती भोग्दै आएको छ।
सो समस्या समाधानका लागि मन्त्री गणेशप्रसाद सिंहको निर्देशनमा हप्ता दिनभित्र डोल्पाको सदरमुकाम दुनैलगायत आसपासका क्षेत्रमा विद्युत सेवा सुचारू हुने भएको छ।
जैरीगाड विद्यत् उत्पादन गर्नका लागि खराबी भएको मेसिन बोलपत्र आह्वान गरेर खरिद गरेपछि हप्ता दिनभित्र डोल्पामा विद्युत सेवा सुचारू हुने भएको हो।
जैरीगाडमा एउटा मात्र मेसिनद्वार विद्युत उत्पादन हुँदै आएकोमा अब एउटा थपेर दुइटा मेसिनबाट विद्युत् उत्पादनको काम सुरू गर्न लागिएको मन्त्री सिंहले जानकारी दिए।