उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा चुननारायण श्रेष्ठ नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ। श्रेष्ठ अहिले संघको वरिष्ठ उपाध्यक्ष हुन्।
संघको नेतृत्व चयनका लागि फागुन ३० गते निर्वाचन हुँदैछ।
श्रेष्ठको समूहबाट संघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षहरूमा चिरञ्जीवी सुवेदी, भोजराज कौडाल, शंकर नेपालले उम्मेदवारी दिने घोषणा गरेका छन्।
अध्यक्षका उम्मेदवार श्रेष्ठ ४ पटक उवासंघको पदाधिकारी बनिसकेका छन्। उनले २०६६ सालदेखि कार्यसमिति सदस्य हुँदै तृतीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र २ पटक वरिष्ठ उपाध्यक्ष बनेर काम गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै उनले चितवनलाई आर्थिक केन्द्र बनाउन पहल गर्ने प्रतिबद्धता जनाए।
'उवासंघले ६ दशकमा बनाएको साखलाई उचाइमा पुर्याउने काम गर्नेछु,' उनले भने।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार सुमनकुमार श्रेष्ठ १६ वर्षदेखि उवासंघमा आवद्ध छन्। उनी कार्यसमिति सदस्य हुँदै तृतीय उपाध्यक्ष र द्वितीय उपाध्यक्ष र २ कार्याकल प्रथम उपाध्यक्षका रूपमा काम गरिसकेका छन्।
उपाध्यक्षका उम्मेदवार चिरञ्जीवी सुवेदीले ६ कार्यालय कार्यसमितिमा रहेर काम गरेका छन्।
उनी १ कार्याकाल तृतीय उपाध्यक्ष, २ कार्याकाल द्वितीय उपाध्यक्ष भएका थिए। कौडाल अहिले तृतीय उपाध्यक्ष छन्। उपाध्यक्षका अर्का उम्मेदवार शंकर नेपाल २०७० देखि कार्यसमिति सदस्य छन्। उनले घरबहाल समन्वय उपसमिति र सदस्य अभिवृद्धि उपससमिति संयोजक भएर काम गरेका थिए।
उद्योग वाणिज्य संघको अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ। ६ जना पदाधिकारी र २३ जना सदस्य चयन हुनेछन्।
उद्योग, वाणिज्य तर्फ छ-छ जना, वस्तुगततर्फ ४ जना, महिला १ जना, एसोसिएटतर्फ २ जना, क्षेत्रीय सदस्य १ जना निर्वाचित हुनेछन्। यस्तै, मनोनीत ३ जना सदस्य र ४ जना विशिष्ट सदस्य मनोनीत हुनेछन्।