उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा चुननारायण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
बुधबार उम्मेदवारी मनोनयनका लागि छुट्याइएको समयभित्र अध्यक्ष पदमा उनको मात्र उम्मेदवारी परेको थियो।
वरिष्ठ उपाध्यक्ष पदमा सुमनकुमार श्रेष्ठ र उद्योगतर्फको उपाध्यक्ष पदमा चिरञ्जीवी सुवेदी निर्विरोध निर्वाचित भएका छन्। यी पदमा पनि अन्यले उम्मेदवारी दर्ता गरेनन्।
अध्यक्ष भएका श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए।
उनी यसअघि ४ पटक उवासंघको पदाधिकारी बनिसकेका छन्। उनले २०६६ सालदेखि कार्यसमिति सदस्य हुँदै तृतीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र २ पटक बरिष्ठ उपाध्यक्ष बनेर काम गरेका छन्।
बुधबार बिहान उम्मेदवारी घोषणा गर्दै उनले चितवनलाई आर्थिक केन्द्र बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
वरिष्ठ उपाध्यक्षका निर्वाचित सुमनकुमार श्रेष्ठ १६ वर्षदेखि उवासंघमा आबद्ध छन्।
उनी कार्यसमिति सदस्य हुँदै तृतीय उपाध्यक्ष र द्वितीय उपाध्यक्ष र २ कार्यकल प्रथम उपाध्यक्षका रूपमा काम गरिसकेका छन्।
उद्योगतर्फको उपाध्यक्षमा निर्वाचित चिरञ्जीवी सुवेदीले ६ कार्यालय कार्यसमितिमा रहेर काम गरेका छन्। उनी १ कार्यकाल तृतीय उपाध्यक्ष, २ कार्यकाल द्वितीय उपाध्यक्ष भएका थिए।
उपाध्यक्ष वाणिज्यतर्फ शंकर नेपाल र शिरिष पन्त, कर्पोरेटतर्फ भोजराज कौडाल र राजेन्द्र ओलीको उम्मेदवारी परेको छ।
महिला सदस्यमा पूर्णिमा श्रेष्ठ, क्षेत्रीय सदस्यमा रेशमलाल आचार्य सर्वसम्मत चयन भएका छन्। कर्पोरेट सदस्यमा डा. जीवनकुमार श्रेष्ठ र रजनी मास्के सर्वसम्मत भएका छन्।
सदस्य उद्योगतर्फ ६ जनाका लागि ७ जना, वाणिज्यतर्फ ६ जनाका लागि १२ जना र वस्तुगततर्फ ४ जनाका लागि ७ जनाको उम्मेदवारी परेको छ।
सर्वसम्मत हुन नसकेका पदहरूमा फागुन ३० गते सोमबार मतदान हुने मुख्य निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए।