श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हटाइएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरेर विमानस्थलमा राखिएको श्रम डेस्क बुधबारदेखि हटाइएको हो।
श्रम डेस्कले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई दु:ख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम डेस्क हटाउन निर्देशन दिएका हुन्।
श्रम डेस्क हटाउनका लागि मन्त्री श्रेष्ठसहितका अधिकारीहरू विमानस्थल पुगेका थिए।
मन्त्री श्रेष्ठले श्रमिकहरू श्रम डेस्कमार्फत् जाँदा प्रक्रिया झन्झटिलो भएका कारण डेस्क हटाउनुपरेको बताए।
अब श्रमिकहरू सहज रूपमा विमानस्थल प्रवेश गर्न सक्ने उनले बताए।
उनले भने,‘आजदेखि वैदेशिक रोजगारमा जाँदाखेरी वैदेशिक रोजगारमा जाने श्रमिकहरूको लागि छुट्टै लाइन या कुनै पनि झन्झटिलो प्रक्रिया जुन छ, त्यो आजदेखि नपर्नेगरी कुनै पनि गेटबाट जसरी अरू यात्रुहरू जानुहुन्छ, त्यसरी नै श्रमिकहरूलाई जाने व्यवस्थाको सुरूआत हामीले गरेका छौं। श्रमिकहरू आउँदाखेरी पनि सम्मान हुनेगरी पर्यटन मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गरेर छिट्टै श्रमिकहरूलाई सम्मान सहितको सेवाको हिसाबले अगाडि बढेका छौं।’
अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेकाले श्रम डेस्क आवश्यक नभएको मन्त्रालयले जनाएको छ।
विमानस्थल प्रवेश गर्ने श्रमिकहरूले अब ३ वटै प्रवेशद्वारबाट प्रवेश गर्न पाउने भएका छन्।