नेपाल आयल निगमको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस गरिएको छ। निगम एमडी छनोट समितिले बुधबार तीन जनाको नाम सिफारिस गरेको हो।
सिफारिस हुनेमा डा.चण्डिकाप्रसाद भट्ट, जीवनप्रकाश सिटौला र इन्जिनियर उमेशप्रसाद थानी छन्। डा.चण्डिका भट्टसँग विशेष आर्थिक क्षेत्र (सेज) मा लामो समय काम गरेको अनुभव छ।
जीवनप्रकाश सिटौलासँग सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र उद्योग विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालेको अुनभव छ। त्यस्तै, उनले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग महाशाखा प्रमुखको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन्। उनले प्रदेश १ मा अर्थसचिवकाे जिम्मेवारी पनि सम्हालेका थिए।
इञ्जिनियर उमेश प्रसाद थानीसँग तीन वर्ष नेपाल इन्जिनियरिङ परिषद्ममा र एक वर्ष निजी कलेजमा काम गरेको अनुभव छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको नियुक्ति र मनोनयन सम्बन्धी निर्देशिका २०७८ को दफा३ अनुसार व्यवस्थापकीय जिम्मेवारीमा कम्तिमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ।
‘सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानुनमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्थामा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ,’ निर्देशिकामा उल्लेख छ।
आज बस्ने मन्त्रीपरिषद्को बैठकले यी मध्ये एक जनालाई निगमको कार्यकारी निर्देशकमा छनोट गर्ने छ।