पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धिले ढुवानी यातायात व्यवसायीको पेसा संकटमा परेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन्।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धि फिर्ता नलिए ढुवानीका साधन घर/ग्यारेजमा थन्काउने चेतावनी दिएका हुन्।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ महासचिव राजेन्द्र विक्रम बानियाँले मूल्यवृद्धिले ट्रक यातायात व्यवसायीलाई निकै समस्यामा पारेकोले मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने वा भाडा समायोजन गर्नुपर्ने सो नभएमा ७ दिनभित्र देशैभरिका ढुवानी ठप्प पार्ने चेतावनी दिएका हुन्।
‘यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ढुवानी व्यवसायमा रहेका तत्कालीन समस्याबारे हामीले अवगत गरायौं,उहाँहरू सकारात्मक हुनुहुन्छ वास्तविक समस्या हल हुनेमा हामीले आशा लिएका छौं’, महासचिव बानियाँले भने।
नेपाल सरकार पेट्रोलियम पदार्थमा मूल्य भारी मात्रामा हेरफेर हुँदा सोही अनुरूप भाडा समायोजन गर्नुपर्ने व्यवस्था हुँदा पनि त्यो नहुनु दुःखद् पक्ष भएको व्यवसायीको ठहर छ।
पट्रोलियम पर्दाथमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै मागको सुनुवाइ नभए उत्पन्न हुने परिस्थितिको नेपाल सरकारलाई आगामी दिनमा आन्तरिक आपूर्ति व्यवस्थामा पर्न जाने समस्याको जिम्मेवारी स्वयम् सरकार र नेपाल आयल निगम हुने समेत विज्ञप्तिमा उल्लेख छ।
महासंघले पेट्रोलियम पदार्थको पटक-पटकको मूल्यवृद्धिको आधारमा ढुवानीको सवारी साधनमा भाडा समायोजन हुनुपर्ने, देशभर कानुन सम्मत भारवहनलाई कडाइका साथ लागु गरिनुपर्ने लगायतको विषयमा ध्यानाकर्षण गराइएको छ।