सौरभ ग्रुप अन्तर्गतको तीन सय करोड लगानी भएको जगदम्बा स्पिनिङ मिल्समा विद्युतीय शर्ट सर्किट भई बुधबार बिहान ३ बजे आगलागी हुँदा उद्योगको टिएफओ मेसिन, विद्युत प्यानेल, विद्युतीय तारहरू नष्ट भएको छ। यो भनेको झन्डै चार करोड बराबरको नोक्सानी भएको कम्पनीले जनाएको छ।
आगलागी हुँदा उद्योगमा कार्यरत छ सय ५० भन्दा बढी कामदार तथा कर्मचारीबीच भागदौड भएको थियो। जसमा पाँच जना कर्मचारी सामान्य घाइते भएका छन्।
उद्योग भित्रै रहेको आगो निभाउने संयन्त्र, सिद्धार्थ नगरपालिका र लुम्बिनी संस्कृति नगरपालिकाबाट आएको दुईवटा दमकलको मद्दतमा समयमै आगो निभाइएको थियो। उक्त कार्यमा इलाका प्रहरी कार्यलय बेथरीबाट पनि आगो निभाउने काममा ठुलो सहयोग प्राप्त भएको कम्पनीले जनाएको छ।