काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को खानेपानी महशुल ई-सेवाबाट भुक्तानी गर्न सकिने भएको छ।
खानेपानी सम्झौतामा ई-सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र केयुएलका तर्फबाट कामुका उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले हस्ताक्षर गरेका हुन्।
सम्झौतासँगै ई-सेवा मार्फत केयुकेएलका ठिमी, भक्तपुर, त्रिपुरेश्वर, क्षेत्रपाटी, कीर्तिपुर, बानेश्वर, महांकालचौर, ललितपुर, महाराजगंज शाखाका ग्राहकले ई-सेवाबाटै महशुल भुक्तानी गर्न सक्ने भएका छन्। उक्त सम्झौताले आम खानेपानी ग्राहकको ठुलो हिस्सालाई सहज बनाउने अपेक्षा गरिएको छ।
हाल देशभर रहेका सयौँ खानेपानी समितिहरूको खानेपानी महशुल समेत ई-सेवाबाट भुक्तानी गर्न सकिन्छ।
ई-सेवा प्रयोगकर्ताले अनलाइनबाट सिधैं शुल्क भुक्तानी गर्न सक्नेछन् भने ई-सेवा अकाउन्ट नभएका ग्राहकहरूले आफ्नो नजिकै रहेका जोन तथा पोइन्टमार्फत रकम भुक्तानी गर्न सक्नेछन्।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई-सेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख पुगेको छ। यसैगरी, अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले ई-सेवामार्फत सेवा लिइरहेका छन्। हाल ई-सेवाका देशभर करिब एक लाख ३० हजारभन्दा बढी एजेन्ट (ई-सेवा जोन तथा पोइन्ट) छन्।
ई-सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। ई-सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।