नेपाल ट्रक यातायात व्यवसायी महासंघले ढुवानी व्यवसायका समस्याबारे बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ज्ञापनपनत्र बुझाएको छ।
मुख्यमन्त्री राजेन्द्र पाडेलाई महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले आज ज्ञापनपत्र हस्तान्तरण गरेका थिए।
ज्ञापनपत्रमा पेट्रोलियम पदार्थकोे मूल्यवृद्धिका आधारमा ढुवानी सवारी साधनमा भाडा समायोजन हुनुपर्ने, कानुनले निर्धारण गरेका भारवहन क्षमतालाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने, भारतीय सवारी साधन विशेषगरी ट्रकको निर्वाध आवागमनलाई नेपालमा कडाइ गरिनुपर्ने, नेपालबाट भारततर्फको पेट्रोलियम पदार्थ तस्करी रोकिनुपर्ने र भारतीय सीमा क्षेत्रका थोत्रा ट्रक व्यवस्थापनमा गरिनुपर्ने उल्लेख छन्।
सो अवसरमा महासंघका महासचिव बानियाँले विभागले सात दिनभित्र आफ्ना माग पूरा गर्न आग्रह गरेका थिए।
उनले भने, ‘छोटो अवधिमा पेट्रोलियम पदार्थको पटक-पटकको मूल्यवृद्धि भएको छ। यसबाट ढुवानीमा समस्या हुँदै आएको छ। मूल्यवृद्धिका आधारमा भाडादर समायोजन हुनुपर्छ।’
उनले भारतमा निश्चित समयसम्म सञ्चालन भई थोत्रिएका ट्रक नेपाली सीमा क्षेत्रमा ल्याई सञ्चालन गर्ने प्रवृत्ति तत्काल रोक्न पनि सरकारसँग माग गरे।
उक्त अवसरमा महासंघले उठाएका जायज मागको समाधानका लागि केही दिनमा माननीय यातायातमन्त्रीसँग बैठक राखेर समस्या समाधान गरिदिने आश्वासन मुख्यमन्त्रीले दिएको बाँनियाले बताए।