कोड फर चेन्जले यही मार्च र अप्रिलको महिनामा राष्ट्रियस्तरको 'कोडफेस्ट' नामक ह्याकाथोन आयोजना गर्ने भएको छ।
युथ इन सोसल चेन्ज नामक गैर नाफामूलक सामाजिक संस्थाद्वारा सञ्चालित प्राविधिक परियोजनाले कुनै एक व्यक्ति, टिम वा संस्थाको व्यक्तिगत र व्यावसायिक वृद्धि र विकासको निम्ति ह्याकाथोनको महत्त्वपूर्ण योगदान रहेको बताएको छ।
ह्याकाथोनमा प्रविधिको डोमेनका विद्यार्थीहरूलाई समावेश गराई दीगो विकासका ७ लक्ष्यमा उनीहरूलाई आफ्नो विवेक, रचना र उनीहरूले शैक्षिक संस्थाबाट सिकेका ज्ञानहरूलाई वास्तविक समस्याहरूको समाधानमा प्रयोग गर्न जोड दिइने आयोजकले बताएको छ।
आफूसँग आइडिया भएर पनि उचित प्लेटफर्म तथा एक्सपोजर नपाएका विद्यार्थीहरूका यो एक सुनौलो अवसर हुने आयोजकले जनाएको छ।
ग्रुपमा काम गर्न सिक्न सकिने, प्रतिस्पर्धात्मक भावनाले आफ्नो क्षमता उजागर हुने, आफूभन्दा वरिष्ठ व्यक्तिहरूबाट सिक्न सकिने, समयको महत्त्व बुझ्न सकिने र छोटो समयमै ठूला ठूला समस्याहरूको समाधान खोज्न सकिने भएकाले विशेष गरी प्रविधिको क्षेत्रमा ह्याकाथोनको भूमिका अपरिहार्य रहेको बताइएको छ।
कोडफ़ेस्टमा विद्यार्थीहरूले आफू पढ्दै गरेको कलेजलाई प्रतिनिधित्व गर्दै वा छुट्टै टिम बनाएर पनि आफ्नो टिम दर्ता गर्न सक्नेछन् र उनीहरूले सर्वप्रथम आफ्नै प्रदेशका टिमहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
७ वटै प्रदेशमा उक्त प्रतिस्पर्धा हुनेछ र प्रादेशिक विजेताहरू काठमाडौंमा अन्तिम चरणको लागि प्रतिस्पर्धा गर्नेछन्, जुन ३ दिन सम्म चल्नेछ।
उत्कृष्ट प्रतिस्पर्धीहरूले क्रमशः १ लाख, ५० हजार र २५ हजार बराबरको धनराशी र विभिन्न मेडल तथा प्रमाणपत्र पाउने आयोजकले बताएको छ।
प्रतिस्पर्धामा सहभागी हुनका लागि विद्यार्थीहरूले यस लिङ्कमा क्लिक गरेर दर्ता गराउन सक्नेछन्।
यसै गरी कोड फर चेन्जले उक्त कार्यक्रम साझेदारी तथा सहयोग गर्न चाहनेहरूका लागि समेत आवेदन खुला गरेको छ, इच्छुक कम्पनी तथा संस्थाहरूले यस लिङ्कमा क्लिक गरेर आवेदन दिन सक्नेछन्।