नेपाल-भारत उद्योग वाणिज्य संघले भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. शंकर शर्मालाई आइतबार संघको सचिवालयमा एक संक्षिप्त कार्यक्रम गरी स्वागत गरेको छ।
कार्यक्रममा संघका अध्यक्ष सृजना राणाले राजदूत शर्मालाई स्वागत गरेका हुन्।
उक्त कार्यक्रममा नेपाल तथा भारत बीच रहेको बहुआयामिक सम्बन्धको चर्चा गर्नुका साथै वर्तमान द्विपक्षीय आर्थिक सम्बन्धमा रहेका विद्यमान समस्याहरूबारे राजदूतलाई अवगत गराइएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
संघका अध्यक्ष सृजनाले संघको स्थापना, उद्देश्य, विगतदेखि संघले नेपालको औद्योगिक विकास तथा समग्र आर्थिक विकासको लागि पुर्याउँदै आएको योगदानबारे बताउँदै नेपालमा औद्योगिक लगानी वृद्धि गर्न भारतका लागि नेपाली राजदूत एवं भारतस्थित नेपाली राजदूतावासको भूमिका महत्वपूर्ण रहेको बताइन्।
उनले नेपालले भारतसँगको व्यापार घाटा कम गर्न नेपालले आफ्नो उत्पादन क्षमतामा वृद्धि गर्नुपर्ने बताइन्। त्यस्तै, निकासी अभिवृद्धिमा ध्यान पुर्याउन आवश्यक रहेको तथा नेपालमा औद्योगिक विकासलाई अझ तीब्रता दिनको लागि र भारतीय लगानीकर्ताहरूलाई नेपालमा भारतीय लगानी भित्र्याउन राजदूतबाट विशेष पहल गर्न अनुरोध गरिन्।
कार्यक्रममा अध्यक्ष सृजनाले संघले नेपालमा भारतीय धार्मिक पर्यटन प्रबन्धन गर्ने उद्देश्यले नेपाल-भारत धार्मिक सर्किटको विकास गर्ने उद्देश्यले कफिटेबल बुक तथा वेबसाइट निर्माणको क्रम अन्तिम चरणमा रहेको जानकारी गराइन्। जसको लागि नेपाली राजदूतावासको सक्रिय सहयोग र सहभागिताको लागि अनुरोध गरिन्।
कार्यक्रममा संघका महासचिव आरबी रौनियारले नेपाल-भारत व्यापार तथा पारबहनको क्षेत्रमा रहेका समस्याहरूबारे प्रस्तुति दिए। कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधानले भने नेपालमा लगानी ठूलो सम्भावना जलविद्युत भएको र दुबै देशका लगानीकर्ताहरूको रुची पानी मै भएका कारणले ठूला लगानीकर्ताहरूलाई यसै क्षेत्रमा आकर्षित गर्न सकिने बताए।
उक्त कार्यक्रममा संघका उपाध्यक्ष सुनिल केसीले नेपालमा आउन चाहने हरेक किसीमका भारतीय लगानीकर्ताहरूका लागि दूतावासले सहजीकरण गर्न सकिने र सोको लागि नवनियुक्त राजदूत शर्माको भूमिका तथा विशेषज्ञता प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले पनि कार्यक्रमबीच विभिन्न समस्यालाई औल्याउँदै त्यसलाई समाधान गर्न सकिने तरिकाहरू प्रस्तुत गरे।
त्यस्तै, कार्यक्रममा नेपालमा सञ्चालित भारतीय लगानीमा सञ्चालित उद्योग तथा कम्पनीहरूको तर्फबाट संघका उपाध्यक्ष सैवाल घोष, संघका कोषाध्यक्ष तथा उर्जा समितिका संयोजक ज्ञानेन्द्र लाल प्रधानले पनि आ-आफ्नो तर्क प्रस्तुत गरे।
उक्त अवसरमा नवनियुक्त राजदूत डा. शंकर शर्माले संघले यसरी आमन्त्रण गरेर समग्र नेपाल-भारत द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरू तथा नेपालमा औद्योगिक क्षेत्रको विकासको लागि भारतमा बसेर नेपालको राजदूतको रुपमा गर्नुपर्ने कार्यहरू सम्बन्धी सुझावहरू उपलब्ध गराएकोमा खुशी व्यक्त गरे।
उनले संघले प्रस्ताव गरेका आयोजना गर्ने योजना बनाएका कार्यक्रमहरू नेपाल-भारत साझेदारी सम्मेलन, काठमाडौ–कोलकता फोरम लगायत नेपाल इनोभेसन सेन्टर र उद्यमी प्रमोसन सेन्टरहरू स्थापना गरी युवा स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने कार्यमा ध्यान दिने बताए। नवनवियुक्त राजदूत डा.शंकरले नेपालमा लगानी प्रबन्धनका लागि कार्यहरू गर्ने र नेपाल-भारत उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए।