मधेस प्रदेशमा लामो समयदेखि विद्युत महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत लाइन काटिएको छ।
विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत उपभोग गरे पनि लामो समयसम्म विद्युत महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत लाइन काटिएको छ।
मधेस प्रदेशका आठ वटै जिल्लास्थित वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विद्युत महसुल नबुझाउने ग्राहकको लाइन कट्टा गरी रु ६४ करोड ३५ लाख महसुल संकलन गरिएको विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयका प्रमुख इ मुनिन्द्र ठाकुरले जानकारी दिए।
लाइन कट्टा गरिएकामध्ये नौ हजार ७१४ जनाले पुनः लाइन जडान गरेको र त्यसबाट ४२ करोड ९२ लाख ३९ हजार १९० रुपैयाँ राजस्व संकलन भएको प्रमुख इ ठाकुरले बताए।
विद्युत मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत लाइन काट्ने अभियान चलाइएको उनको भनाइ छ।
यस्तै, विद्युत चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि मधेस प्रदेशमा चालु आर्थिक वर्षको सात महिनामा करिब चार प्रतिशत विद्युत चुहावटमा कमी आएको छ।
विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय मातहतका वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान चलाएपछि चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा विद्युत चुहावट तीन दशमलव ८२ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षमा १६ दशमलव १२ प्रतिशत विद्युत चुहावट भएकामा चालु आर्थिकको सात महिनाको अवधिमा विद्युत चुहावटलाई १२ दशमलव तीन प्रतिशतमा झारिएको विद्युत प्राधिकरणले जनाएको छ।
सबभन्दा बढी सिराहाको लहान वितरण केन्द्रले १३ दशमलव ९७ प्रतिशत चुहावट नियन्त्रण गरेको छ भने सबभन्दा कम सर्लाहीको मलङ्गवा वितरण केन्द्रले चार प्रतिशत विद्युत चुहावट नियन्त्रण गरेको प्रमुख इ ठाकुरले जानकारी दिए।
यसरी हेर्दा मधेस प्रदेशमा विद्युत चुहावट नियन्त्रण अभियानबाट विगत सात महिनाको अवधिमा ३४ करोड रुपैयाँ बराबरको विद्युत चुहावट घटेको अनुमान गरिएको छ।
सो अवधिमा चुहावट नियन्त्रण अभियानअन्तर्गत विद्युत हुकिङ गर्ने एक हजार ५९० लाई पक्राउ गरी तिनीहरूबाट जरिवानाबापत तीन करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको प्रमुख इ ठाकुरले बताए।