वीरगञ्जको छपकैया वडा नं. ३ मा रहेको ताराचन्द किसन लाल आधारभुत विद्यालयलाई हस्तान्तरण गरिएको छ।
विद्यालयको भवनमा एक कार्यक्रम आयोजना गरी राउन्ड टेबल नेपालका केन्द्रीय अध्यक्ष आनन्द बाहेतीले नव निर्मित सुविधा सम्पन्न ४ वटा कक्षा कोठा विद्यालयलाई हस्तान्तरण गरेका हुन्।
गत आइतबार राउन्ड टेबल ८ का अध्यक्ष दिपल खन्ना र राउन्ड टेबल १३ का अध्यक्ष चिराग अग्रवालको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिगत तीन महिना पहिले विद्यालयमा २६ लाख बराबरको भौतिक पुर्वाधार निर्माण गर्ने अनफुहरूको आयोजना भएको थियो। सोही अन्तर्गत सोमबार ४ वटा कक्षा कोठा र सोको लागि कुर्सी, टेबल, कालोपाटी, आदि सहित निर्माण गरी हस्तान्तरण गरिएको राउन्ड टेबल नेपालका सदस्यले बताए।
राउन्ड टेबल नेपाल गैरनाफामुलक संस्था हो, जसले देशका विभिन्न जिल्लाहरूमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ। अहिलेसम्म राउन्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ।
राउन्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउन्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३० च्याप्टरमा कुल ४५३ सदस्य रहेका छन्। १८ देखि ४० वर्ष उमेर समूहका युवाहरू मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना 'फ्रिडम थ्रू एजुकेसन' सञ्चालन गरिरहेको छ।
संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालाय भवन) देखि आवश्यकता अनुसार शिक्षा सामाग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ।
राउन्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेको छ भने सो निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। शिक्षा क्षेत्रसँगै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि काम गर्दैछ। यसले विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चारदेखि पाँच हजार बिरामीलाई निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने थ्यालेसिमिया नामक रोगका बिरामीहरू लक्षित उपचार प्रक्रियामा सघाइरहेको छ।
त्यसैगरी, कोरोना महामारीका प्रोजेक्ट लाइफ लाइनअन्तर्गत विरामीहरूलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बराबरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरूलाई हस्तान्तरण गरेको थियो।