प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा र लमजुङका लाखौं जनसंख्या लाभान्वित हुने पन्थहिटी–कटहरे–हर्मी–साहिलटारसडक स्तरोन्नति योजनाको मंगलबार शिलान्यास गर्ने भएका छन्।
पालुङटार नगरपालिकाको विमिरेमा बिहान ११ बजे हुने शिलान्यासका लागि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेत गोरखा जाने कार्यक्रम छ।
उपप्रधानमन्त्री श्रेष्ठले विशेष प्राथमिकतामा अगाडि बढाएको यो योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साँढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्र हुनेछ।
भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।
वूड हिल–लामा जेभी, महाराजगन्जले ३० महिनामा सक्नेगरी ठेक्का पाएको यो सडक योजनाबाट गोर्खाको पालुङटार नगरपालिका एवम् सिरानचोक, छोप्राक र अजिरकोट गाउँपालिका तथा लमजुङको राइनास र दुधपोखरी नगरपालिकाका विभिन्न वडाबासीहरू लाभान्वित हुनेछन्।
योजनाबाट गोर्खा र लमजुङका गरी चार लाख ३० हजारभन्दा बढी जनसंख्या लाभान्वित हुने अनुमान सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र योजना कार्यालय गोरखाले गरेका छन्।