सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबटिक्स र साइबर सेक्युरिटी सम्बन्धी परियोजनाहरूको प्रदर्शनी 'टेक एक्स २०२४' आयोजना हुने भएको छ।
प्रदर्शनीमा रोबटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्ट लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि अवलोकन गर्न पाइने छ।
विद्यार्थीहरूले पासवर्ड क्र्याकिङको विश्लेषण गर्ने रोबर्ट प्रदर्शनीमा राखिने बताइएको छ।
प्रदर्शनीमा एआई रोबटिक टिचर, बैंकिङ रोबट, टुर गाइड रोबट, रोबट फूटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, वोबोट वार लगायतका ३० भन्दा बढी रचनात्मक परियोजनाहरू रहनेछन्।
प्रदर्शनीमा ‘रोबट वारियर्स लिग, २०२४’ सुरूआत समेत गरिने बताइएको छ।
उक्त लिगमा ४० भन्दा बढी रोबर्टहरूले विभिन्न कम्पनीको प्रतिनिधित्व गर्दै रोबो वार ब्याटलमा सहभागी हुनेछन्। सो लिग छ महिनासम्म चल्नेछ।
काठमाडौंको सफ्टवेरिका कलेज अफ आइटी एन्ड इकमर्सको आयोजनामा कलेज प्राङ्गणमा हुने प्रदर्शनी यही साउन १५ गतेदेखि २० गतेसम्म ६ दिन सन्चालन हुनेछ।
विद्यार्थीहरूले आइटी अध्ययनपश्चात् जीवन उपयोगी सीप विकासमा कस्तो भूमिका खेलिरहेका छन् भन्नेबारे पनि कार्यक्रममा चर्चा गरिने कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए।
'आइटीको क्षेत्रमा पछिल्लो समय के–कस्ता परिवर्तन भइरहेका छन्। यही क्षेत्रमा के–के परिवर्तन गर्न सकिन्छ। आइटी अध्ययनले हाम्रो जीवनमा कस्तो भूमिका खेलिरहेको छ र, हामीलाई आइटी अध्ययन किन जरूरी छ भन्ने जस्ता कुराको ज्ञान दिन कार्यक्रम आयोजना गरिएको हो’, कलेज प्रमुख प्रमोद पौडेलले भने।
उनले कार्यक्रममा सहभागी भएर प्रविधिको भविष्यलाई अनुभव गर्न अनुरोध गरेका छन्।