जनकपुरधाम—अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने भएको छ।
नेपालको भौतिक मन्त्रालय तथा नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जनाएको हो।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।
उनले २०८० पुस १ गते भौतिक मन्त्रालयमार्फत् जनकपुरधामबाट अयोध्या हुँदै दिल्लीसम्मका लागि रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरिए पनि पहिलो चरणमा अयोध्यासम्म मात्रै सञ्चालनमा आउने बताए।
महाप्रबन्धक झाकाअनुसार पहिलो चरणमा अयोध्यासम्म मात्रै रेल सञ्चालनमा ल्याउने तयारी गरिए पनि दिल्लीसम्म रेल सेवा सञ्चालन गर्नका लागि पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
उनले सप्ताहको एक दिन अयोध्यासम्म जनकपुरधामबाट रेल गुड्ने तयारी स्वरूप समय तालिका समेत सार्वजनिक गरिसकेको बताए।
रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याबाट फर्किएर अर्को बिहान साढे बजे जनकपुरधाम पुग्नेगरी तालिका सार्वजनिक गरिएको उनले जानकारी दिए।
उनले भने, ‘जनकपुरधाम–अयोध्या रेल सञ्चालनका लागि समय तालिका सार्वजनिक गरेका छौं, अब सोहीअनुसार छिट्टै सेवा सुरू गर्ने तयारीमा छौं। उद्घाटनको समय तालिका मिलाउन लागिएको छ, समय मिल्नासाथ औपचारिक घोषणा गर्नेछौं।’
उनले भंगहादेखि बर्दिवाससम्मको रेल्वे लिक निर्माणको कार्य चाँडै सुरू गर्ने बताए।
मुआब्जा वितरणको काम ८५ प्रतिशतसम्म सम्पन्न भइसकेको र बाँकी १५ प्रतिशतमा विवादहरू रहेकाले सोको समाधानका लागि पहल भइरहेको बताए।
उनले मन्त्रालयबाटै त्यो विवाद समाधान गर्ने पहल भइरहेकाले चाँडै नै विवाद समाधान गरेर कात्तिक महिनादेखि निर्माण कार्य अगाडि बढाइने सम्भावना रहेको बताए। त्यस्तै कार्गो रेल सेवा सञ्चालनका लागि भारत सरकारसँग समन्वय भइरहेको जानकारी दिए।—न्युज एजेन्सी नेपाल