नेपालगञ्जमा सञ्चालित उच्चस्तरीय साउण्ड सिस्टम र प्रविधियुक्त सिनेमाघर ‘सिनेरोयल’ले मोबाइल एप सार्वजनिक गरेको छ।
दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ग्राहकको सुविधालाई ध्यानमा राख्दै यस सिनेमाघरले मोबाइल एप सार्वजनिक गरेको हो।
सिनेरोयलका संस्थापक विनोद थापाले मोबाइल एपमार्फत सहज रूपमा टिकट काट्न तथा चलचित्रबारे जानकारी लिन सकिने बताए। २५ करोडको लागतमा गत वर्षको साउनदेखि सिनेमाघर सञ्चालनमा आएको हो।
तीन स्क्रिनको आधुनिक लक्जरी सिनेमा हल सिनेरोयलले पश्चिम नेपालका मात्रै नभएर सीमावर्ती भारतीय सहर बहराइच, गोन्डासम्मका चलचित्र प्रेमीहरूका लागि मनोरन्जनको नयाँ अवसर सिर्जना गरेको छ।
अत्याधुनिक प्रविधि, आरामदायी फर्निचर लगायतका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतर्पूव बेन्चमार्क स्थापित गरेको दाबी गरिएको छ। यस सिनेमाघरले नेपालकै द वेष्ट सिनेमाघर २०८० को अवार्ड समेत पाएको छ।
३ ओटा आडिटोरियमको कुल सिट क्षमता ५६० रहेको छ।