तेस्रो संस्करणको टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिता भदौ ७ गते हुने भएको छ।
टुसाल मल्टिभेन्यु प्रालिद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताबारे जानकारी दिइएको हो।
प्रतियोगिता तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्यूका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले बताए।
प्रतियोगितामा २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गर्ल्स र सिनियर ब्वाइज र सिनियर गर्ल्स गरी ४ वटा विधामा प्रतिस्पर्धा गराइनेछ।
विजयी खेलाडीहरूलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरुले सम्मान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा झण्डै एक सय खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ।
हालसम्म २० वटा विद्यालयले सहभागिताका लागि नाम दर्ता गरिसकेको र यसपटक सरकारी विद्यालयका विद्यार्थीले निःशुल्क सहभागिता गर्ने बताइएको छ।
प्रतियोगिताको प्राविधिक र निर्णायकको जिम्मेवारी विष्णु खड्का लगायत ११ जनाको टिमले जिम्मा लिनेछन्।
प्रतियोगितामा मेडिकल सपोर्टमा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल रहने छ। अस्पतालले प्रतियोगितको अवधिभर एम्बुलेन्स, एकजना चिकित्सक र दुई जना नर्स सहितको सेवा दिने सम्झौता भएको आयोजकले जनाएको छ।
यस अघि गत वर्ष असार १५ गते मल्टिभेन्युले दोस्रो संस्करणको आयोजना गरेको थियो।