द ब्रिटिस कलेजका संस्थापक तथा सिइओ राजन कँडेललाई एसएमई न्युजले 'एमडी अफ द इयर' अवार्ड प्रदान गरेको छ।
ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका सिइओ कँडेल 'एसएमई न्युज आइटी अवार्ड २०२४'बाट सम्मानित भएका हुन्।
बेलायतको प्रकाशन गृह एसएमइले वार्षिक रुपमा सकारात्मक परिवर्तनको लागि काम गरिरहेका व्यवसायीहरूलाई अवार्ड प्रदान गर्दै आइरहेको छ।
एसएमई न्युजले उद्यमशिलता क्षेत्रका योग्य व्यक्तिहरूलाई अवार्ड प्रदान गर्दछ।
अन्य प्रतिस्पर्धीहरूभन्दा फरक तरिकाले आइटी सोलुसन, डेटा माइग्रेशन तथा आइटी ट्रान्फरमेशन सेक्टरमा काम गर्दै आएका व्यक्तिहरू सो अवार्डको लागि मनोनयनमा परेका थिए।
सिइओ कँडेलले 'इन्टरनेसनल एजुकेसन सेक्टर' विधा अन्तर्गत 'सर्वश्रेष्ठ लगानी गर्ने म्यानेजिङ डाइरेक्टर'को रूपमा कँडेल ग्रुपको लागि यो अवार्ड जितेका हुन्।
उद्यमशिलताको क्षेत्रमा सकारात्मक प्रभाव पारेको आधारमा छनौट भई अवार्डद्वारा सम्मानित भएका सिइओ कँडेलले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा ठूलो योगदान गरेका बताइएको छ।
'मैले मेरो करियर आइटी म्यानेजरको रुपमा सुरू गरेको थिएँ। अहिले हामीले विश्वको केही शीर्ष विश्वविद्यालयहरूसँग साझेदारी गर्दै आइटी विषयहरूसँगै अन्य शैक्षिक कार्यक्रमहरु पनि विश्वका चार वटा महादेशमा रहेका विद्यार्थीहरूलाई प्रदान गर्दै आएका छौं।'
अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया दिँदै सिइओ कँडेलले भने, ‘यसै वर्ष पनि हामीले बेलायतको ग्रीनविच विश्वविद्यालयसँगको साझेदारीमा कोर्षहरू प्रदान गर्न सुरू गरेका छौं। त्यस्तै, क्यानडाको म्यारिटाइम बिजनेश कलेज पनि अधिग्रहण गरेका छौं। त्यसैले यो अवार्ड मेरो लागि धेरै अर्थपूर्ण छ र यो नयाँ कुराहरुको सुरुवात हो।’