सरोकारवालाहरूले अपांगता भएका व्यक्तिहरूको आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने औंल्याएका छन्।
शुक्रबार नेपाल अपांग समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै समाजकी अध्यक्ष एवं सल्लाहकार तेजकुमारी तिवारीले अपांगता भएका व्यक्तिहरूका लागि रोजगारी र स्वरोजगारका कार्यक्रम अघि बढाउन सरकार तथा सरोकारवालाहरूको साथ सहयोगको खाँचो रहेको बताइन्।
'अपांगता भएका व्यक्ति भए पनि हामी कतिपय अवसर पाउँदा काम गर्न सक्ने छौं। कतिपय काम गर्न नसक्ने पनि छौं। हामी सम्पूर्णको जिम्मा राज्यले लिनुपर्छ,' उनले भनिन्।
हाम्रो देशमा व्यवस्था परिवर्तन भए पनि शारीरिक तथा मानसिक अस्वस्थता भएका विपन्न वर्गको अवस्था अझै परिवर्तन नभएको उनले बताइन्।
क्यानडा नेपाल टुरिजम कल्चर एण्ड ट्रेडका अध्यक्ष नरबहादुर टन्डनले शारीरिक तथा मानसिक अपांगता भएका वर्गको कसरी उत्थान गर्न सकिन्छ भनेर योजना बनाएर सरकारले काम गर्नुपर्ने बताए।
'अन्य मुलुकमा कति राम्रा सेवासुविधा छन्। यहाँको सरकारले पनि राम्रा कार्यक्रम ल्याउन सक्छ। अब सरकारले भत्ता दिएर मात्रै पुग्दैन। उहाँहरूको क्षमताअनुसार सीप र रोजगारीसँग जोड्नुपर्छ। उहाँहरूको उत्पादन बजारीकरण गरिदिनुपर्छ,' टन्डनले भने।
यहाँका भौतिक पूर्वाधार संरचनाहरू समेत अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्तिहरूले सास्ती झेल्नु परिरहेको उनको भनाइ छ।
'स्कुल, कलेज लगायत स्थानमा एउटा ट्वाइलेट त अपांगमैत्री छैन। राज्यले के गरिरहेको छ?,' उनले प्रश्न गरे।
गाउँपालिका महासंघका केन्द्रिय सल्लाहकार लेखनाथ पोख्रेलले नीति निर्माण तहमा बसेकाहरू एकदमै संवेदनशील हुनुपर्ने बताए। स्थानीय, प्रदेश तथा केन्द्र सरकारले बजेट बनाउँदा अपांगमैत्री बनाउनुपर्नेमा समेत जोड दिए।
'नीति भएर मात्रै पनि हुँदैन, कार्यान्वयनमा जोड दिनुपर्छ। स्थानीय सरकारले आफ्नो क्षेत्रमा के सम्भावना छ, त्यसमा ध्यान दिएर अपांगता भएका व्यक्तिलाई अवसर दिनु आवश्यक छ,' उनले भने।