नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भक्सले सेफ नेपालको टिम र विजेताहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
राजदूत भक्सले नेपालमा आफ्नो कार्यकालको अन्तिम दिन सेफ नेपाल टिमलाई भेटेर विजेता तथा उप-विजेताहरूलाई शुभकामना दिएका हुन्।
कान्तिपुर टिभीबाट प्रसारण भएको नेपालको पहिलो फुड रियालिटी शो सेफ नेपालको सिजन एक केही समय अघि मात्र समाप्त भएको थियो।
लामो समय लगाएर सकिएको शोले अहिले विजेता तथा उपविजेता पाएको छ।
नेपालको पहिलो फुड रियलिटी शोको पहिलो विजेता बनेका उदयपुरका आजुइहङ राई भने राजदूतसँगको भेटमा उपस्थिति थिएनन्।
राजदूतसँगको भेटमा सेफ नेपाल टिभी शो को पहिलो रनरअप बिकेश मानन्धर र दोस्रो रनर-अप इङ्वा सुब्बासहित सेफ नेपालका निर्माता धर्मराज पाण्डे उपस्थित थिए।
राजदूत भक्सले सेफ नेपालको रियालिटी शोमा विजेता तथा उपविजेता बन्नु निकै राम्रो कुरा भएको बताएका थिए।
उनले उपविजेताहरूको उज्ज्वल भविष्यको समेत कामना गरे।
शोको १४ औं भागमा आफू गेष्टको रूपमा आउँदा खुसी लागेको र त्यो अनुभव अत्यन्तै रोमाञ्चक रहेको भक्सले सुनाए।
सेफ नेपालको विजेता तथा उपविजेताहरूलाई समेटेर कुकिङ शोको तयारी गरिरहेको राजदूत भक्सलाई निर्माता पाण्डेले जानकारी गराए।
राजदूत भक्स आफ्नो कार्यकाल सकेर आगामी सोमबार अष्ट्रेलिया फर्कंदै छन्।