आइतबारदेखि सुरू हुने भनिएको दोस्रो नेपाली जुत्ता मेला सञ्चालनमा रूपन्देहीका व्यापारीहरूबाट अवरोध भएको छ।
बुटवल मिलनचोकस्थित नेपाली लुगा घरले नेपाली जुत्ता घरसँगको सहकार्यमा आइतबारदेखि जुत्ता मेला सञ्चालनको तयारी गरेको थियो।
गत असार असार ६ गते डेल्टा मार्टमा लागेको आगलागीबाट नेपाली जुत्ताघर र लुगा घरका सामान जलेर नष्ट भएका थिए।
आगलागी भएको दुई महिनासम्म सञ्चालनमा नआएको जुत्ताघरले डेल्टा परिसरमै टेन्ट लगाएर जुत्तामेला चलाउन खोजेकोमा अवरोध भएको हो।
रूपन्देही व्यापार संघले आफूहरूको अनुमति र सहमतिबिना बाहिरबाट आएका व्यक्तिहरूले जुत्तामेला लगाउन लागेको भन्दै मेला रोक्न बुटवल उपमहानगरपालिका वडा नम्बर ८ लाई पत्र पठाएको थियो।
जुत्ता मेला सञ्चालन गर्न भदौ ४ गते अनुमति दिएको वडा कार्यालयले शुक्रबार जुत्ता मेला नगर्न पत्राचार गर्यो।
आइतबार बिहानैदेखि मेलाको उद्घाटनको तयारीमा कर्मचारीहरू खटिएका बेला व्यापारीहरूको टोलीले स्वागतगेट भत्काइदिएका छन्।
डेल्टा परिसरमा लगाइएको टेन्टमा विभिन्न आठ कम्पनीका जुत्ता राखिँदै थियो।
आइतबार बिहान करिब ९ बजेतिर व्यापारीहरू आएर जुत्ता मेलाको ब्यानर र गेट तोडफोड गरेको लुगाघरका सञ्चालक प्रकाश भुसालले बताए।
मेला अवरोध गर्न आएको टोलीले लुगाघर र जुत्ताघरका कर्मचारीलाई हातपात समेत गरेका थिए।
आगलागीबाट ठूलो क्षति ब्यहोरेको बेला आफ्नै मार्ट परिसरमा जुत्तामेला गर्दा पनि व्यापार संघको नाममा अवरोध भएको उनले बताए।
´दुई महिनापछि फेरि उठ्ने प्रयास गरेको हो। टेन्ट लगाएर उपभोक्तालाई सेवा दिने तयारी गर्दा यहाँकै केही व्यापारीहरूबाट नै विरोध भएको छ,’ उनले भने।
दुई महिना अघि लागेको आगलागीबाट जुत्ता घर र लुगाघरको पाँच करोड रुपैयाँ बढी क्षति भएको थियो।
कुनै पनि हालतमा मेला लगाउन नदिने धम्की आएको कर्मचारीहरुले बताए।
दसैंसम्म गर्ने भनिएको जुत्तामेलामा उपभोक्तालाई १५ देखि ५० प्रतिशतसम्म छुट दिनुको साथै मेलामा जाने पहिलो एक हजार ग्राहकलाई एक रुपैयाँमा एकजोर मोजा उपलब्ध गराउने आयोजकले बताएका थिए।
मेलामा नेपाली आठ वटा कम्पनीका ३० वटा ब्राण्डका जुत्ता बिक्री गर्ने तयारी थियो।