राजधानीको बानेश्वरस्थित कान्तिपुर इन्टरनेसनल कलेजले इन्टेरियर डिजाइन मा नवीनता (इनोभेसन इन इन्टेरियर डिजाइन) विषयमा विद्यार्थी र विज्ञबीच छलफल आयोजना गरेको छ।
उक्त कलेजको ब्याचलर अफ इन्टेरियर डिजाइन विभाग (बिआइडी) ले विद्यार्थीहरूमा सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षा दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा इन्टेरियर डिजाइन क्षेत्रमा नवीनता र नयाँ सोचबारे गहन छलफल भएको कलेजका कार्यकारी निर्देशक प्रतापराज जोशीले बताए।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयको बिआइडी पाठ्यक्रम समितिकी अध्यक्ष प्राध्यापक डा. मधुरा कार्कीले इन्टेरियर डिजाइनको क्षेत्रमा नवप्रवर्तन र सिर्जनशीलता जरुरी रहेको बताइन्।
इन्टेरियर डिजाइनको क्षेत्रमा परिर्वनको खाँचो रहेकामा जोड दिँदै उनले त्यस क्षेत्रका पेशेवर र अध्यताहरूले नयाँ चुनौतीको सामना गर्नुपर्ने उल्लेख गरिन्।
कार्यक्रममा ब्रिटिश एकेडेमी अफ आर्ट्स एन्ड डिजाइनकी सिइओ समेत रहेकी इन्टेरियर डिजाइनर तथा प्रशिक्षक सन्दिपा तामाङले सो क्षेत्रमा सिर्जनशीलता र निरन्तर सिकाइ जरुरी रहेको बताइन्।
उनले इन्टेरियर डिजाइनमा रोजगारीको पर्याप्त अवसर रहेकाले नयाँ पुस्ताको आकर्षण बढ्दै गएको उल्लेख गरिन्।
सामाजिक विज्ञान विषयकी अनुसन्धाता एवं बाक्खन न्यान वाकी सह–संस्थापक बिनिता मङ्गैयाले इन्टेरियर डिजाइनलाई परम्परागत नेपाली शैली अपनाएर नयाँ रुप कसरी दिन सकिन्छ भन्नेबारे चर्चा गरिन्।
चीनको बेइजिङस्थित त्सिङ्ह्वा विश्वविद्यालयमा इन्टेरियर डिजाइनिङ विषय अध्ययन गरेकी बिवा जोशीले डिजाइनलाई प्रविधियुक्त र दिगो कसरी बनाउन सकिन्छ भन्नेबारे अनुभव सुनाइन्।
कार्यक्रममा कलेजका दोस्रो, चौथो, पाचौं र छैठौं सेमेस्टरका विद्यार्थीहरूको सहभागिता थियो।
कार्यक्रममा घर, अफिस, होटल तथा रेष्टुरेण्टलाई भित्री लेआउट, रंग, फर्निसिङ र बिरुवाहरुको संयोजनमार्फत आकर्षक ढंगले कसरी सजाउने भन्ने विषयमा अन्तर्क्रियात्मक छलफल भएको थियो।
पूर्वाञ्चल विश्व विद्यालयअन्तर्गतको कान्तिपुर होटल म्यानेजमेन्ट एन्ड इन्टेरियर डिजाइन कलेजले इन्टेरियर डिजाइनिङ कोर्स पढाउँदै आएको छ।
नेपालमा कान्तिपुरसहित दुईवटा कलेजले उक्त विषय अध्यापन गराउँदै आएका छन्।