अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) ले विपद व्यवस्थापनका विषयमा एकदिने कार्यशाला सम्पन्न गरेको छ।
कार्यक्रममा डिएआईको नेपाल प्रतिनिधि निलु बस्न्यातले नेपालमा विपतका कारण ठूलो धनजनको क्षति भइरहेकाले रोकथाम र न्यूनीकरणका लागि थप स्रोत र साधनको परिचालन गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा गोपाल तिवारीले युएसएआइडीले नेपालमा सञ्चालन गर्दै आएको तयार नेपाल परियोजनामा निजी क्षेत्रको योगदानबारे चर्चा गरे।
परियोजनाले उद्यमशीलताका लागि अवसर सिर्जना गरेको तिवारीले जानकारी दिए।
परियोजनामार्फत् ३५ भन्दा बढी व्यवसाय विस्तार भइसकेको छ भने युएसएआइडीले उनीहरूलाई आवश्यक अन्य सहयोग समेत गरिरहेको छ।
हरित व्यवसायलाई प्रवर्द्धन गर्दै आएको परियोजनाले करिब ७ सय जनालाई व्यवसाय निरन्तरता व्यवस्थापन तालिम समेत दिएको तिवारीले बताए।
विपत् व्यवस्थापन र न्यूनीकरणको आवश्यकताबारे प्रस्तुतीकरण दिएका सुमन शाक्यले परियोजनापश्चात् स्थानीयमा आएको परिवर्तनबारे जानकारी दिए।
डिएआई सन् २०१६ देखि नेपालमा सञ्चालनमा रही विभिन्न परियाजनाहरूमार्फत् दिगो विकासका लक्ष्यहरूमा टेवा पुर्याउँदै आएको छ। संस्थाले नेपालसहित विभिन्न १ सय ५० भन्दा बढी मुलुकमा विपत व्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ।
एमच्याम नेपालमा अमेरिकी लगानीका ५० भन्दा बढी व्यावसायिक संस्था आबद्ध छन्।
स्थापनाको २ वर्षमै एमच्याम नेपालले युएस च्याम्बर्स अफ कमर्सको आबद्धता पाइसकेको छ।
एमच्यामले आफ्ना सदस्य संस्थाहरूसँग गर्ने नियमित कार्यक्रम 'मेम्बर लर्निङ सिरिज' अन्तर्गत उक्त कार्यक्रमको १२ औं सँस्करण डिएआईसँगको सहकार्यमा सम्पन्न गरेको हो।