नेदरल्याण्डको द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले पक्राउ पुर्जी जारी गरेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिन मंगोलिया भ्रमणमा गए पनि पक्राउ परेनन्।
पुटिनलाई मंगोलियाका समकक्षी उखागी खुलेल्सोले राजधानी उलानबाटरमा रेड कार्पेटमा स्वागत गरे।
आइसिसीले पुटिनविरूद्ध रूसले कब्जा गरेको युक्रेनी भूमिबाट बच्चाहरू रूसमा लगेको युद्ध अपराधका लागि मार्च २०२३ मा पक्राउ पुर्जी जारी गरेको थियो।
सदस्य राष्ट्रले आइसिसीले जारी गरेको पक्राउ पुर्जीको पालना गर्नुपर्छ। रूस र चीनले घेरिएको भुपरिवेष्ठित मंगोलिया आइसिसीका १२४ सदस्य राष्ट्रमध्ये पर्छ। तर उसले पक्राउ पुर्जी जारी भएका पुटिनलाई भ्रमणका लागि निम्तो दियो र सोमबार राति आइपुगेका पुटिनलाई पक्राउ पनि गरेन।
पुटिनको भ्रमण अघि आइसिसीले सदस्यको हैसियतले मंगोलिया उनलाई पक्रिन बाध्य हुन्छ भनेको थियो। पुटिन मंगोलिया पुगेपछि भने आइसिसीले अहिलेसम्म केही औपचारिक प्रतिक्रिया जनाएको छैन। रूस भने आइसिसीको सदस्य राष्ट्र भने होइन।
पक्राउ पुर्जीको पालना नगरेकाले आइसीसीले मंगोलियालाई कारबाही गर्नसक्छ।
पक्राउ पुर्जी अनुसार पुटिनलाई नपक्रेकाले आइसिसीले मंगोलियाविरूद्ध सहकार्यको जिम्मेवारी पालना नगरेकोमा मुद्दा चलाउन सक्छ भनेर अमेरिकी अनलाइन पत्रिका पोलिटिकोले लेखेको छ। त्यसपछि आइसिसीले सो मुद्दालाई 'एसेम्बली अफ पार्टिज' (सदस्य राष्ट्रहरूको सभा)मा पठाउँछ, जसले पालना नगरेकोमा भर्त्सना गर्नसक्छ।
तर आइसिसीले जिम्मेवारी पालना नगर्ने सदस्य राष्ट्रलाई नाकाबन्दी, जरिवाना वा अरू कुनै कडा कारबाही भने गर्न सक्दैन। किनभने आइसिसीसँग आफ्ना नियम पालना गराउने विश्वव्यापी प्रहरी बल छैन।
आइसिसी सदस्य दक्षिण अफ्रिकाले सन् २०१५ मा यसरी नै पक्राउ पुर्जीको पालना नगर्दा पनि केही कारबाही नभोगेकाले पनि मंगोलियाले पुटिनलाई निम्तो दिएको अनुमान गर्न सकिन्छ। मानवताविरूद्ध अपराध र नरसंहारको मुद्दामा पक्राउ पुर्जी जारी भएका सुडानका तत्कालीन राष्ट्रपति ओमर अल-बसिरलाई आफ्नो देशमा आएका बेला दक्षिण अफ्रिकाले पक्राउ गरेको थिएन। आइसिसीले दुई वर्ष पछि दक्षिण अफ्रिकाले जिम्मेवारी पुरा नगरेको ठहर गरेको थियो। तर सो विषयलाई कडा निन्दाका लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा पठाएको थिएन।
कडा कारबाही नभोगे पनि त्यतिबेला अल-बसिरलाई नपक्रेकाले व्यापक आलोचना व्यहोरेको दक्षिण अफ्रिकाले गत वर्ष ब्रिक्सको शिखर सम्मेलनका लागि पुटिनलाई भ्रमण गर्न दिन आइसिसीसँग छुट मागेको थियो। तर आइसिसीले त्यस्तो छुट नदिए पछि अन्त्यमा पुटिन शिखर सम्मेलनका लागि नगएर भिडिओ कलबाटै सहभागिता जनाएका थिए।
छिमेकी चीनको अत्याधिक प्रभावलाई अलिक कम गर्न मंगोलियाले ३००० किलोमिटर भन्दा लामो सीमा जोडिएको रूससँगको सम्बन्धको प्रयोग गर्छ। आफ्नोमा खपत हुने प्राय: जसो सबै पेट्रोलियम पदार्थ रूसबाट आयात गर्ने भएकाले पनि मंगोलिया रूसमा निर्भर छ। त्यसैले रूसले युक्रेनमाथि आक्रमण गरेकोमा विरोध नगरेर मंगोलिया तटस्ठ बसेको छ।
रूसी साम्राज्यको एैतिहासिक गौरव र तत्कालीन सोभियत संघले दोस्रो विश्व युद्धमा हासिल गरेको विजयबारे कुरा गरिरहने पुटिनलाई मंगोलियाले खुशी पार्न भ्रमणको निम्तो दिएको हो। दोस्रो विश्व युद्धको समयमा तत्कालीन सोभियत संघ र मंगोलियाका सेनाले संयुक्त रूपमा मंगोलियाको खाल्खिन गोल नदीको लडाइमा जापानी सेनालाई परास्त गरेको ८५औं वर्षगाँठको अवसर पारेर पुटिनलाई भ्रमणमा बोलाइएको हो।
सन् १९९० ताका नरसंहार मच्चाएको आरोपमा तत्कालीन युगोस्लाभियाका राष्ट्रपति स्लोबोदान मिलोसेविचलाई आइसिसीले पक्रेर थुनेको थियो। मिलोसेविच आफ्नो जीवनका अन्तिम वर्षहरू थुनामै बिताएका थिए र नेदरल्याण्डको खोरमा सन् २००६मा उनको निधन भएको थियो। तर त्यसयता आइसिसीले खासै उपलब्धि हासिल गरेको छैन। अमेरिका, रूस, चीन भारत र इसराइलजस्ता शक्तिशाली राष्ट्र मात्रै नभएर नेपाल जस्ता साना राष्ट्र समेत आइसिसीको सदस्य छैनन्।
आफ्ना १२४ सदस्य राष्ट्रहरूले पनि पहिले दक्षिण अफ्रिका र अहिले मंगोलियाले जस्तो जिम्मेवारी पालना नगरे पछि आइसिसीलाई अन्तर्राष्ट्रिय कानूनको पालना गराउन झनै अप्ठयारो पर्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)