नेपाली भलिबल टिम काठमाडौं स्पाइकर्सले लोगो सार्वजनिक गरेको छ।
काठमाडौं सहरको समृद्ध संस्कृति र आफ्नो सफलताको बलियो चाहना समेट्ने चिन्हको रूपमा लोगो निर्माण गरिएको स्पाइकर्सले जनाएको छ।
एभरेष्ट वुमेन्स भलिबल लिगको एक फ्रन्चाइजीको रूपमा काठमाडौं स्पाइकर्स रहेको छ।
महिला खेलाडीहरूलाई प्रेरणा दिने र उनीहरूलाई बलियो बनाउने लक्ष्यसहित नेपालको राष्ट्रिय खेल भलिबलको इतिहासमा एउटा नयाँ अध्यायको सुरूआत भएको स्पाइकर्सले जनाएको छ।
शरदकुमार टिबरेवालाको स्वामित्वमा रहेको स्पाइकर्सले खेलकुदमा नेपाली महिलाहरूको सहभागितालाई बढाउने र खेल स्तरलाई अझै माथि उठाउने लक्ष्य राखेको छ।
खेलकुदको प्रवर्द्धन गर्दै नयाँ पुस्ताका खेलाडीलाई बलियो बनाउन प्रतिबद्ध स्पाइकर्सले एउटा टिम मात्र नभई नेपाली महिलाहरूको बल र जोशको प्रमाणको रूपमा समेत उभिएको दाबी कम्पनीको छ।
लोगो सार्वजनिक गर्ने क्रममा काठमाडौं स्पाइकर्सकी सिओओ सुदीक्षा अधिकारीले काठमाडौं स्पाइकर्स आफ्नो छुट्टै प्रभाव छोड्न आएको बताइन्।
'टिमको लोगो सार्वजनिक भएसँगै नेपाली युवा महिलाहरूलाई प्रेरणा दिने यात्रामा हामीले आज आफ्नो पहिलो पाइला चालेका छौं,' उनले भनिन्, 'भलिबल राष्ट्रिय खेल मात्र नभई हाम्रो एकता र बलको चिन्ह पनि हो। काठमाडौंको प्रतिनिधित्व गर्दै एभरेष्ट वुमेन्स भलिबल लिगमा आफ्नो छाप छोड्न हामी तयार छौं।'
सार्वजनिक नयाँ लोगोमा काठमाडौंको समृद्ध संस्कृतिलाई बुझाउने गोल्डेन, सिल्भर र कालो रंगको आकर्षक संयोजन गरिएको छ।
लोगोको केन्द्रमा रहेको मन्दिरले सहरको आध्यात्मिक मूल र यसको गहिरो सांस्कृतिक विशेषताहरूलाई प्रतिनिधित्व गरेको कम्पनीले बताएको छ।