काठमाडौंमा आइतबारदेखि घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ।
'स्वदेशी उत्पादन, हाम्रो अभियान' भन्ने मूल नाराका साथ घरेलु उद्यमी मेला तथा दसैं महोत्सव आयोजना हुने भएको हो।
घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा उक्त मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्रकुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १३ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरूको प्रदर्शनी आयोजना गर्न लागिएको बताए।
महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहने उनले बताए।
स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता लगायत ७० वटा स्टल राखिने उल्लेख छ।
घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्धारा उत्पादन गरिएका वस्तुलाई प्रवर्द्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगका उत्पादन बढाएर बेरोजगारी समस्यामा कमी ल्याउने बताए।
रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई प्रदर्शनी मार्फत् स्वदेशमै केही अवसरहरू छन्, हामीले चाहेको अवस्थामा केही गरौं आफ्नै देशमा, रोजगार सिर्जना गरौं आफ्नै देशमा भन्ने कुरा देखाउन खोजिएको आयोजकले जनाएको छ।