विजय कुमार शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसियु र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रूपैयाँ सहयोग प्रतिबद्धता जनाएको छ।
शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्नेछ।
जसका माध्यमबाट विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरूको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सकिनेछ। शाह परिवारको महत्त्वपूर्ण सहयोगको सम्मान गर्दै पिएसआइसियु र डे केयर सर्जरी शाखाको तल्लालाई रुस्लान पिएसआइसियु नामाकरण गरिनेछ।
वि.स. २०८१ भदौ १३ गते शाह परिवारले प्राथमिक चरणमा १ करोड रूपैयाँ केआइओसिएचलाई प्रदान गरिसकेको छ।
गैर नाफामूलक संस्था जेजिआई नेपाल फाउण्डेसन (जेजिआइएनएफ) ले यस सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरिरहेको छ।
यद्यपी, यो सहयोग शाह परिवारको निजी पुँजीबाट प्रदान गरीएको हो। कुल सहयोग प्रतिबद्धतामध्ये बाँकी ३ करोड रूपैयाँ निर्माण योजना सुरू भएपछि जेजीआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रुपमा प्रदान गरिनेछ।
यस नयाँ पिएसआइसियू र डे केयर सर्जरी शाखाद्वारा सेवाको खाँचोमा रहेका बालबालिकालाई विशिष्ट सहयोग हुनेछ। स्वास्थ्य उपचारका निम्ति अन्य मुलुक धाउनुपर्ने बाध्यता समेत यसको निर्माणले कम हुन जाने बताइएको छ।