नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टको मूल्यमा भएको बृद्धिले निर्माण व्यवसायी थप अन्यायमा परेको बताएका छन्।
शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज), भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रबर्द्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजना गरेको ‘विकास बजेटको परिचालन: सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफलमा उनले सिमेन्टको मूल्य वृद्धिको विषयमा सरकारले तत्काल ध्यान दिनुपर्ने बताए।
‘छोटो समयमै सिमेन्टको मूल्य बोरामै २०० रुपैयाँले बढेको छ। यसले निर्माण व्यवसायीहरु अन्यायमा परेका छन्,’ उनले भने, ‘यसमा सरकारको ध्यान जान आवश्यक छ।’
यस्तै, निर्माण व्यवसायीको बाँकी भुक्तानी तत्काल निकासा हुनुपर्ने पनि उनले बताए। यसमा अर्थ मन्त्रालयले विशेष ध्यान दिनुपर्ने उनले बताए।
यसैगरी निर्माण व्यवसायीले तिर्नुपर्ने ऋणको सावाँ र व्याज तिर्ने अवधी पनि थप गर्नुपर्ने उनको भनाइ छ।
‘राष्ट्र बैंकले ऋणको साँवा र व्याज तिर्ने अवधी मंसिर मसान्तसम्म थप गरेको थियो। तर, अहिलेसम्म हामीले भुक्तानी पाउन सकेको छैनौं। त्यो अवस्थामा मंसिर भित्र ऋण तिर्ने अवस्था छैन,’ उनले भने, ‘सरकारले भुक्तानी तत्काल गर्ने संकेत गरेको छैन। राष्ट्र बैंकले पनि मौद्रिक नीतिको समीक्षामा यस विषयमा कुनै उल्लेख गरेको छैन। त्यो अवस्थामा मंसिर भित्र हामीले ऋण तिर्नुपर्ने दवाब छ। यसमा सरकारले ध्यान दिनुपर्छ।’
मंसिर भित्रै ऋण तिर्न नसकेमा निर्माण व्यवसायीहरु कालोसूचिमा पर्नेछ। त्यसपछि निर्माण व्यवसायीले काम गर्न नसक्ने र समग्र निर्माण कार्य प्रभावित हुने उनले बताए।