एड्भर्टोरियलः
ग्राहकहरूको व्यवहार, आनीबानी र सामान किन्ने तरिका-शैली हरेक दिन परिवर्तन हुँदै गइहेका छन्। विश्वका सबै उपभोक्ताले खानपानदेखि परिधान, हेरचाहका सरसामान लगायत स्वास्थ्योपयोगी वस्तुहरूमा एक नयाँ दृष्टिबाट उत्पादन तथा ब्रान्ड खोजी गरिरहेका छन्।
विश्वभर र नेपालमा समेत ग्राहकहरू आजकाल आफ्नो व्यक्तिगत स्याहार सम्बन्धी ब्रान्डको खोजी गर्दा धेरै प्राकृतिक तथा स्वच्छ उत्पादनको प्रयोग गर्नेतर्फ अग्रसर भएको पाइन्छ। उपभोक्ताको व्यवहारमा देखा परेको यो परिवर्तन हानिकारक केमिकलयुक्त उत्पादनले आफ्नो स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभावलाई लिएर पनि हुन सक्छ।
हिजोआज ग्राहकले यस्ता सामानमा सल्फेट र पाराबेन छ कि छैन भनेर औंल्याउन थालेका छन्। विशेषगरी स्याम्पू र कन्डिसनर प्रायः सबैजसोको खरिद सूचीमा पर्ने अनिवार्य सामानमध्ये हो। ती उत्पादनले पनि सल्फेट र पाराबेनबारे यस्तै छानबिनको चुनौती सामना गरिरहेका छन्।
सल्फेट तथा पाराबेन तत्वहरू स्याम्पू र कन्डिसनरबाट गजगजी फिँज आउन प्रयोग गरिन्छ। यसले दीर्घकालमा गएर कपालको स्वास्थ्य खराब गर्ने र टाउकोको संवेदनशील भागका लागि पनि अनुपयुक्त हुने वैज्ञानिक अध्ययनहरूले देखाएका छन्।
नेपालमा स्थानीय उत्पादन किन्ने परम्पराले बढावा पाउँदै गइरहेकाले ग्राहकहरूको ब्रान्ड रोज्ने निर्णयमा समेत त्यसले धेरै प्रभाव पारिरहेको छ। उपभोक्ताका लागि अहिले स्वास्थ्य नै पहिलो प्राथमिकता हो। त्यसैले ब्रान्डहरू आफ्नो सबभन्दा ठूलो जित नै ग्राहकको माग पूरा गर्नु भएको मान्छन्।
त्यसैगरी, विभिन्न उत्पादनको उपलब्धता र ती उत्पादनसम्मको सहज पहुँचले पनि ग्राहकलाई उनीहरूको चाहना र रूचि सुहाउँदो उत्पादनका बारेमा जानकारी राख्न सजिलो बनाइदिएको छ। शिक्षित वर्गहरूको वृद्धि, आयस्तर र मानिसको जीवनस्तरमा भएको परिणामी वृद्धिले उपभोक्ता ब्रान्डप्रति सजग भएका छन् भने इ-कमर्सले आफ्ना साइटहरूमा राख्ने धेरै ब्रान्ड सम्बन्धी सूचनाले पनि उपभोक्तालाई धेरै छनौटका अवसर प्राप्त भएका छन्।
स्याम्पू र कन्डिसनर प्रयोगमा पनि ग्राहकले सल्फेट र पाराबेन नभएको उपयोग गर्नेतर्फ सचेत भएका छन्। प्राकृतिक र प्रयोग गर्न सुरक्षित हुनुका साथै सल्फेटमुक्त हेयर क्लिनरहरूले अन्य प्रचलित स्याम्पूको तुलनामा कपाललाई बढी मुलायम र चम्किलो बनाउँछ।
सौन्दर्य ब्लगरहरूले पनि आफ्ना पाठक तथा फलोअरलाई सल्फेट र पाराबेन नभएका स्याम्पू तथा कन्डिसनरबाट उनीहरूले पाएका वैज्ञानिक लाभका बारेमा जानकारी दिएर त्यसलाई अपनाउन प्रेरित गरिरहेका छन्।
सल्फेट र पाराबेन नभएका स्याम्पू र कन्डिसनर प्रयोग गर्दा हुने केही फाइदा यसप्रकार छन्ः
कपालको प्राकृतिक तेल कायम रहन्छः
सल्फेटरहित स्याम्पूको एक मुख्य काम भनेको कपालको प्राकृतिक चमकता जस्ताको तस्तै राखेर कपालको सफाइ गर्नु हो। यो सबै सम्भव हुनुको एक मात्र कारण भनेकै प्राकृतिक तेललाई कुनै हानी नपुर्याइ जोगाउनु हो। सल्फेटरहित हेयर क्लिनरहरूले कपालको रेसालाई त्यसमा भएका प्राकृतिक तेल नहटाइ सफा गर्छ।
पर्याप्त आद्रता ग्रहण गर्छः
कपाल टुक्रिन र झर्न नदिनका लागि कपालमा आद्रता हुनु जरूरी हुन्छ। सल्फेट भएका स्याम्पूले केशको रेसाहरूबाट आद्रता हटाइदिन्छन्, जसले गर्दा कपाल रुखो तथा फुस्रो बनाइदिन्छ। अर्कोतर्फ सल्फेटरहित हेयर क्लिनरले कपालमा भएको प्राकृतिक आद्रता बचाइ राख्न सघाउँछ।
जलन/पोल्ने कम गर्छः
सल्फेटहरू कडा रसायन भएकाले तिनीहरूले टाउकोलाई सुख्खा बनाउन सक्छन्। यो सुख्खापन यदि अनियन्त्रित भएमा पोल्न पनि थाल्न सक्छ। यस विपरीत सल्फेटरहित उत्पादन कोमल हुन्छन्। त्यसप्रकारका समस्याहरू बिना नै तपाईंको कपाललाई सफा गर्छन्।
केशको रङ कायम राख्छः
अचेल धेरैले केश रंगाएका हुन्छ। तर रङ कतिसम्म टिकिरहन्छ भन्ने तपाईंले आफ्नो केशको स्याहार कसरी गर्नुहुन्छ भन्नेमा निर्भर रहन्छ। सल्फेट नभएको राम्रो स्याम्पू प्रयोग गर्नाले तपाईंको केशमा लगाइएको रङको आयु पनि लामो समय रहन्छ। यसले तपाईंलाई बारम्बार आफ्नो कपाल रंगाउन पर्ने झन्झटबाट जोगाउनेछ।
यसबाहेक सल्फेट र पाराबेनरहित स्याम्पू र कन्डिसनरहरू संवेदनशील टाउकाको उपयुक्त हुन्छन् र यो नपोल्ने तथा जुनै किसिमको कपालका लागि सुहाउँदो हुन्छ। साथै यो वातावरणका लागि पनि सुरक्षित हुन्छन्।
हुन त रसायनमुक्त उत्पादनहरूको प्रयोग गर्ने भन्ने कुरा अझै पनि सुषुप्त अवस्थामा नै छ। तर पनि ग्राहकहरूमा यसप्रतिको चेतना र सजगता बढ्दै गइरहेको छ। यसको व्यापक प्रयोग नहुनुका केही कारणमा यससँग सम्बन्धित अफवाह पनि हुन्।
यस्ता अफवाहमध्ये केही सल्फेट तथा पाराबेनरहित उत्पादन बढी महँगो हुने र बजारमा सजिलै नपाइने भन्ने हो। केही मानिसको विचारमा धेरै फिँज नआउने स्याम्पू तथा कन्डिसनर गुणस्तरीय हुँदैनन् भन्ने पनि हो। यसैले उपभोक्तालाई उनीहरूले शरीरका लागि के-कस्ता उत्पादन प्रयोग गरिरहेका छन् भन्नेबारे सचेत गराउनु जरूरी छ। साथै स्वास्थ्यवर्द्धक उत्पादन प्रयोग गर्ने बानी बसाल्न पनि आवश्यक भएको छ।