प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा नेपालमै बनेका जुत्ताचप्पलको वृहत मेला भइरहेको छ।
पुस ६ गतेबाट सुरू भएको प्रदर्शनीमा भेराइटी सुज, ब्लुचिप सुज, प्राइड स्वदेशी जुत्ता, बोस सुज, फुटस्टेप सुज, बेम्बो, एस लेदर जस्ता ब्रान्डका जुत्ताचप्पलहरू बिक्रीमा राखिएका आयोजकले जानकारी दिएका छन्।
'हामीले स्वदेशमै उत्पादन भएका बलियो, टिकाउ र नयाँ डिजाइनका जुत्तालाई धेरै ग्राहक सामु पुर्याउन यो मेला आयोजना गरेका हौं,' आयोजक तथा बेम्बो सुजका सञ्चालक सविन कार्की भन्छन्, 'ग्राहकहरूको उच्च मागका कारण हामीले भृकुटीमण्डपमा मेला सुरू गरेका हौं।'
मेलामा दुई हजारभन्दा बढी आधुनिक मोडलका जुत्ता चप्पल राखिएको आयोजकको भनाइ छ। यहाँ दुई सय रूपैयाँदेखि दस हजार रूपैयाँसम्मका जुत्ता पाइने उनले जानकारी दिए।
'हामीले फ्याक्ट्रीबाट जुत्ताचप्पल सिधै यहाँ मेलामा ल्याउँछौं। बीचमा कसैसँग लेनदेन गर्नुपर्दैन। त्यही भएर बजार मूल्यभन्दा तीन-चार सय सस्तो पर्न जान्छ,' बोस सुज इन्डस्ट्री प्रा.लि. का सञ्चालक गंगा श्रेष्ठले भने, 'पहिला नेपाली जुत्ता भन्नासाथ नाक खुम्च्याउने गर्थे। अहिले नेपाली जुत्ता खोजीखोजी किन्न आउँछन्।'
बिहान दस बजेदेखि बेलुकी छ बजेसम्म हुने यस मेलामा दिनभरि ग्राहकको चहलपहल हुन्छ। एउटै छतमुनि बच्चाबच्चीदेखि वृद्धवृद्धासम्मलाई हुने जुत्ता पाउँदा कसैले खाली हात जानुनपर्ने आयोजक तथा पिजी सुज प्यारागन फुटवेयरका सञ्चालक राम हरि तोलाङ बताउँछन्।
'नेपालमै अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय जुत्ताचप्पल सुपथ मूल्यमा पाउने भएकाले ग्राहकको निकै आकर्षण बढेको छ,' उनले भने।
ग्राहकलाई छ महिनाको वारेन्टीका साथै भारी छुट पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।
'जुत्ताको सिलाइ उध्रिएमा, भाँचिएमा, उप्किएमा हामीले वारेन्टी दिन्छौं,' आयोजक सविनले भने, 'तीन महिनामै समस्या आए हामी कम्पनीमा ल्याएर साटी नै दिन्छौं।'
जाडो मौसमलाई लक्षित गरेर सुरू गरिएको यस मेलामा पार्टीमा लगाउने देखि स्पोर्ट्स, लेडिज र जेन्स सबैका लागि उपयोगी जुत्ताचप्पल राखिएका छन्।
स्वदेशी जुत्ताको बजार प्रवर्द्धनका लागि यो मेला आयोजना गरेको आयोजकको भनाइ छ।