संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा भाडा धेरै लिएको भएमा उजुरी गर्न अनुरोध गरेको छ।
पछिल्लो समय हवाई भाडा महँगो भएको भनेर विरोध भइरहेका बेला मन्त्रालयले यस्तो भेटिएमा उजुरी दिन अनुरोध गरेको हो।
अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा अस्वाभाविक भाडा तिर्नुपरेको गुनासो सम्बन्धमा हाल विभिन्न सोसल मिडियाहरूमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा अस्वाभाविक भाडा तिर्नुपरेको भनेर विरोध भइरहेको छ।
यात्रुहरू मारमा परेको भन्ने समाचार तथा गुनासोहरू आएको भन्दै मन्त्रालयले एक अध्ययन कार्यदल समेत गठन गरेको छ।
'उच्च दरको हवाई टिकट खरिद बिक्री गरेको विषयमा कुनै गुनासो भएमा हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिल र भौचर लगायतका अन्य प्रमाण सहित उजुरी गर्नु होला,' मन्त्रालयले निकालेको सूचनामा भनिएको छ।
इमेल मार्फत हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिल र भौचर लगायतका अन्य प्रमाण सहित उजुरी दिन सकिने छ।