होटल संघ नेपालका अध्यक्ष विनायक शाहले मुलुकभर होटलको संख्या र पर्यटकहरूको आगमनको अनुपातमा ठूलो असन्तुलन रहेको बताएका छन्।
पर्यटन विभाग र होटल संघ नेपालको संयुक्त आयोजनामा 'स्टाटस अफ नेपलिज् होटल्सः प्रस्पेक्ट्स एण्ड च्यालेन्जेज' विषयक कार्यशालामा बोल्दै शाहले यस्तो बताएका हुन्।
'अहिले मुलुकभर वार्षिक ३० देखि ३५ लाख पर्यटक राख्न सक्ने क्षमता भए पनि आगमन संख्या करिब १० देखि १५ लाखमै सीमित रहँदा होटल क्षेत्रको भविष्य जोखिममा छ,' कार्यक्रममा बोल्दै उनले भने।
यसका साथै, शाहले होटलहरूमा एमआरपी सम्बन्धी समस्या रहेको उल्लेख गरे। हवाई भाडा महँगो हुनु, होटलको सेवा मूल्यमा गिरावट आउनु र डिसेम्बरदेखि जनवरी महिनामा बुकिङ घट्नुले होटल व्यवसाय थप समस्यामा परेको उनले बताए।
संघका अध्यक्ष शाहको अध्यक्षतामा काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका होटल व्यवसायको वर्तमान अवस्था, चुनौतीहरू र समाधानका उपायबारे गहन छलफल गरिएको थियो।
छलफलमा पर्यटन विभागका महानिर्देशक नारायण प्रसाद रेग्मीले सरकारी र निजी क्षेत्रको सहकार्यबाट समस्या समाधानको दिशा पहिल्याउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
पूर्व पर्यटन सचिव दीपेन्द्र पुरुष ढकालले पर्यटन नीतिमा दीर्घकालीन योजनाभन्दा छोटो अवधि लक्षित योजनामा ध्यान दिनुपर्ने सुझाव दिए। भैरहवा विमानस्थलको सही उपयोग र आन्तरिक सडक तथा हवाई कनेक्टिभिटी सुधार गर्न सरकारको ध्यानाकर्षण गराए।
पर्यटन सचिव गणेश प्रसाद पाण्डेले वार्षिक पर्यटनको लक्ष्य राखेर हरेक वर्ष सुधारमा ध्यान दिँदै पर्यटन दशक मनाइने धारणा राखे। पर्यटक बसाइको अवधि (लेन्थ अफ स्टे)बढाउन नयाँ होटल थप्नेभन्दा सेवा र अनुभव सुधार्न केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले मुलुकलाई पर्यटकमैत्री बनाउन विमानस्थल तथा नाकाका अध्यागमनहरू चुस्तदुरुस्त बनाउने बताए।
पर्यटन बोर्डका प्रमुख दीपक राज जोशीले पर्यटन पूर्वाधार, अन्तर्राष्ट्रिय विमानस्थलहरूको मार्केटिङ, र डिजिटल प्रविधिको अभावले नेपालमा पर्यटकको अनुभव कमजोर बनिरहेको बताए।
इ–भिसा र इ–पेमेन्ट प्रणाली तत्काल लागू गर्नुपर्ने बताउँदै व्यवसाय प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डमा उद्योग सहजीकरण इकाई खडा गरिने पनि जानकारी दिए।