नेपाल नागरिक उड्यन प्रधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संसदीय छानविन समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोप पोखरालाई बदनाम गर्ने षडयन्त्र भएको टिप्पणी गरेका छन् ।
पोखरा विमानस्थलमा मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै महानिर्देशक अधिकारीले पोखरेली जनता विरुद्ध षडयन्त्र भएको भन्दै सबै मिलेर प्रतिवाद गर्नुपर्ने पनि बताए ।
‘यो एकदम हावादारी, हास्यास्पद, आधारहिन, सनक र निश्चित कुण्ठाबाट अभिष्टबाट प्रेरित छ,’ उनले भने, ‘पोखराको बदनाम गर्ने, पोखराको जनताको बदनाम गर्ने, पोखरा एयरपोर्टको बदनाम गर्ने यो एउटा षडयन्त्र हो । यो षठयन्त्रको सबै नेपाली सबै जनता मिलेर गर्नुपर्छ ।’
प्रतिनिधी सभाको सार्वजनिक लेखा समितिले सांसद राजेन्द्र लिङ्देन नेतृत्वको छानविन समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १० अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो ।
समितिले विमानस्थल निर्माणको लागत १४ अर्बबाट २२ अर्ब बनाएर भ्रष्टाचार गरेको, रिठ्ठेपानी डाँडाकटान लगायतका कार्य विमानस्थल आयोजनाले नगरी सरकारले छुट्टै बजेट विनियोजन गरी निर्माण गरेको, सरकारलाई तिर्नुपर्ने २ अर्ब २२ करोड बढी कर छुट दिएको, विमानस्थलको रनवे निर्माण, माटो निकासी लगायतका कार्यमा भ्रष्टाचार भएको आरोप लगाएको थियो ।
समितिले प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएर अनुसन्धान गरी कारबाही सिफारिस गरेको छ । संसदीय समितिले भ्रष्टाचारको आरोपसहित अधिकारी लगायत कर्मचारीलाई दोषी ठहर गरेको छ ।
संसदीय समितिले लगाएको भ्रष्टाचार आरोपको जबाफ दिँदै अधिकारीले पोखरा विमानस्थल निर्माण गर्दा कुनै पनि कागजातले भ्रष्टाचार पुष्टी गर्न नसक्ने जिकिर गरे।
उनले विमानस्थलमा २२ अर्ब बराबरको काम भएको छ कि छैन भनेर ३ जना इञ्जिनियर राखेर हेर्न पनि चुनौती दिए ।
विमानस्थलको भौतिक पूर्वाधार गुणस्तरीय बनेको भन्दै आगामी ५०/१०० वर्षसम्म पनि केही नहुने उनको जिकिर छ ।
‘पोखरा एयरपोर्टलाई गर्वका रुपमा लिनुस् । केही कमिकमजोरी भएको छ भने सम्वन्धित निकायले हेर्ला,’ उनल भने, ‘कुनै पनि डकुमेन्ट, कुनै पनि कानुन र कुनै पनि व्यक्तिले भ्रष्टाचार प्रमाणित गर्न सक्दैन ।’
विमानस्थल निर्माण गर्न चीनको एक्जिम बैंकसँग लिएको ऋणको २ किस्ता तिरिसकेको उनले बताए । विमानस्थल बनाएपछि आन्तरिक उडान राती र विहानै हुन थालेको, आन्तरिक उडान गर्ने यात्रु ४ लाखबाट बढेर ११ लाख पुगेको भन्दै उनले प्रगति भएको सुनाए ।
पोखरा विमानस्थलको आफु प्रमुख भएपछि ६३० रोपनी जग्गा अधिग्रहण गरेको पनि उनले बताए । विमानस्थलको अहिलेको मूल्यांकनमा ६० अर्ब बराबरको काम भएको पनि उनले दाबी गरे । बिना प्रमाण भ्रष्टाचारको आरोप लगाएको भन्दै उनले आफुहरुमाथि अन्याय भएको बताए ।
चीन सरकारको स्वामित्वमा रहेको कम्पनीले विमानस्थल निर्माण गरेको भन्दै अधिकारीले उक्त कम्पनीबाट भ्रष्टाचार हुन नसक्ने बताए ।
‘कति अर्ब भ्रष्टाचार भयो कसले गर्यो ? चीन सरकारले आएर गर्योत्यसो भए,’ उनले भने, ‘जहाँ १ रुपैया भ्रष्टाचार गर्दा मृत्यु दण्ड हुन्छ, त्यो सरकार आएर गर्यो? चीन सरकारलाई के फाइदा भयो त ?’
विमानस्थल निर्माण गर्दा लागेको ऋण आम नागरिकसँग कर लिएर नतिरेको पनि उनले जिकिर गरे । विमानस्थल प्रयोग गरेका यात्रुसँग विमानस्थल सेवा शुल्क लिएर संकलन भएको रकमबाट पोखरा र भैरहवा विमानस्थलको ऋण तिरेको उनले बताए ।
‘क्यानले सेवा दिएबापत सर्भिस चार्जबाट पोखरा र भैरहवाको लोन तिरिराखेको छ । कसैले राजश्व लिएको छैन घरघर गएर,’ उनले भने, कुनै करबाट होइन, सेवा दिए बापत सेवा शुल्क लिएर तिरेका छौं ।’
विमानस्थललाई ‘सेतो हात्ती’ भयो भनेर प्रचार गरिएको भन्दै उनले आन्दोलन गरेर बनाएको विमानस्थलको ऋण तिर्न चुनौती दिए ।
‘सेतो हात्ती भयो भनेर प्रचार गरियो,’ उनले भने, ‘तपाई तिर्नुस् त्यसो भए, आन्दोलन गरेर बनाएको होइन ?’