बेलायतमा नेपाली भाषा साहित्यको विकास, प्रवद्र्धन र उन्नयनका लागि विभिन्न गतिविधिहरू भइरहेका छन्। सोही उद्देश्य प्राप्तिका लागि विभिन्न साहित्यिक संघ–संस्था तथा समूहहरू सक्रिय रुपमा लागि परेका छन्। त्यस्तै सक्रिय साहित्यिक संस्थाहरू मध्ये एक हो– ‘साहित्य चौतारी युके’।
साहित्य चौतारीले आफूलाई पारम्परिक रुपले संस्थागत रुपमा विकसित गर्दै लैजाने भन्दा पनि यसको अनौपचारिकतालाई नै विशेष बनाई सोही अनुरुप सिर्जनात्मक कार्यहरु गर्दै जाने उद्देश्य राखेको छ। साहित्य चौतारी गाउँघरको कुनै चौतारीको प्रतिकात्मक संकेत हो। बेलायतमा गाउँघरकै जस्तै वर र पिपल भएको चौतारी त छैन। तर नेपालमा चौतारीमा भेला भएर भेटघाट र सुख–दुःखका कुरा गरेजस्तै बेलायतमा पनि कुनै एउटा ठाउँमा भेला भएर साहित्यको बारेमा कुराकानी गर्न सकिन्छ भन्ने मान्यताका साथ साहित्य चौतारी जन्मेको हो।
विगत एक वर्षदेखि दक्षिण लन्डनमा प्रत्येक महिनाको एकदिन नियमित रुपमा साहित्यिक भेटघाट गर्ने गरेको छ– साहित्य चौतारी युकेले। चौतारीमा आ–आफ्ना रचना सुनाउने र ती रचनामाथि एक अर्काले टिप्पणी गर्ने, लेखनको कार्यशाला गर्ने र एक अर्काबाट सिक्ने उद्देश्य रहेको कुरा साहित्य चौतारी युकेका संयोजक वासु शर्मा बताउँछन्। नवोदित लेखकहरूको रचनाहरुको मर्मत सुधार, प्रशिक्षण र प्रकाशन सहयोग गर्ने लक्ष्य राखेको साहित्य चौतारीले आफ्नो एक वर्षे यात्रा पुरा भएको सन्दर्भमा बेलायतमा बसोवास गर्ने ३८ जना कविहरूका कविताको संगालो प्रकाशित गरेको छ– ‘थेम्सका काव्यिक छालहरू।’
‘थेम्सका काव्यिक छालहरू’मा विशेषतः राष्ट्रप्रेम, देशभित्रका विसंगतिहरू र विदेशमा बस्दा पिरोलिएका मनका भावनाहरूको अभिव्यक्ति छ। वासु शर्माको कविता ‘मलाई सिङ्गो देश देऊ’, सम्पूर्णतः राष्ट्र प्रेमले भिजेको कविता हो। कविको चेतन र अवचेतन दुवै मनमा देशको माया छ। उनी कुनै पनि कलहले भावनात्मक तथा भौगोलिक रुपमा देश टुक्रिएको हेर्न चाहदैनन्। त्यसैले त उनी भन्छन्–
मलाई उकालो चढ्न पहाड देऊ
मलाई तेर्सो हिड्न मधेश देऊ
मेरो आफ्नो अस्तित्वको सास फेर्न
मलाई मेरो सिङ्गो देश देऊ।
जीवन चिन्तनले भिजेको छ कवि दिनेश पौड्यालको कविता ‘सपनाका सपनाहरू’। कवि पौड्यालले विम्बको कलात्मक प्रयोग गरेको पाइन्छ कवितामा। जीवन, मृत्यु र सपनाहरूसँग खेल्दै उनी लेख्छन्–
पहाडले छेकेको
बादलले ढाकेको
बाध्यताका जञ्जीरहरुले जकडिएको
मेरो जीवनसम्म आइपुग्न
मृत्युलाई पनि कसैको सहारा लिनुपर्छ।
कवि विनोद न्यौपानेले नेपालको वर्तमानको परिस्थितिलाई आफ्नो कवितामा अनुबन्ध गरेका छन्। नन्दप्रसाद र नन्दप्रसादजस्तै जीवन भोगेका नागरिकहरुको जीवन, अनशन र मृत्युको वरिपरी घुमेको छ कविता– ‘लाशको अनशन’। कवि न्यौपाने लेख्छन्–
हो,
लाश जलेन
जलोस् पनि कसरी?
जहाँ
सरकार आफैँ लाश छ।
मुलतः लय र छन्दमा कलम चलाउने फडिन्द्र भट्टराईले पनि राजनैतिक विसंगतिलाई आफ्नो कवितामा बाँधेका छन्। राजनैतिक नेताहरुको भ्रष्ट चरित्र तथा उनीहरु आफ्नो काममा प्रतिबद्ध हुन नसकेकोले देश सबल बन्न नसकेको निराशा छ ‘नेता’ कवितामा। कवि भट्टराई लेख्छन्–
तिमी झुक्यौ र त पो दास बन्यौ
तिमी चुक्यौ र त बदमास बन्यौ
निराशा बोक्ने आश बन्यौ
अनि जिउँदै मरेको लाश बन्यौ।
डा. बच्चुकैलाश कैनीको कविता ‘नेपाली मन’मा बेलायतका विभिन्न ठाउँहरूमा पुग्दा कसरी नेपालको सम्झना आउँछ भन्ने कुरा देखाएका छन्। यो कविताले विदेशमा जीवन बिताइरहेका धेरै मानिसहरुको भावनालाई प्रतिबिम्बित गर्छ। डा. कैनी लेख्छन्–
थेम्स नदीको किनारामा बसे
त्रिशुली नदीको याद आउँछ
ट्राफलगार स्क्वायर पुगे
हनुमान ढोकाको सम्झना आउँछ।
विजय हितान विशेषतः वातावरणको विषयलाई केन्द्र बनाएर लेख्ने कवि हुन्। उनको वातावरण र प्रणय झल्किने कविता ‘रिसाएकी छौ कि’ समावेश छ कृतिमा। मञ्जु भण्डारी खरेलको कविता ‘म सिर्जनामा रमाउँछु’मा राष्ट्र–प्रेम झल्केको छ। डा. कृष्ण उपाध्याय विशेषतः मानव अधिकारको क्षेत्रमा सक्रिय छन् तर उनका कविताले मानव अधिकार बाहेक अन्य विषयहरू पनि समेटेका छन्। त्यसको एउटा उदाहरण हो– ‘धन्यवाद भ्यालेन्टाइन।’ प्रतिमा के. सी.ले नारीको जीवनलाई आफ्नो कवितामा समेटेकी छन्। उनले जस्तोसुकै परिस्थितिमा पनि हार नखाने र थाक्दै नथाक्ने व्यक्तिको रुपमा नारीलाई प्रस्तुत गरेकी छिन्। डा. रुपक श्रेष्ठ विशेष गरी मुक्तककारको रुपमा पनि चिनिन्छन्। उनको कविता ‘म्याडम टुसाडका पुत्लाहरू’ले लण्डन जीवनको झल्को दिन्छ। उनी लेख्छन्–
रिजेन्ट पार्क र बेकर स्ट्रीटलाई
तपसीलमा साक्षी राखेर
अनवरत उभिइरहेछ लण्डनको मुटुमा
युनियन ज्याककी एउटी धरोहर
म्याडम टुसाड
ब्रिटिश एम्पायारका
खुत्तर पुत्लाहरू सँगालेर।
अतिथिका कविको रुपमा कवि डा. दुबसु क्षेत्रीको कविता ‘गन्तव्य धेरै बाँकी छ सीताजी! म अहिले नै विश्राम गर्न चाहन्नँ’ समावेश छ कृतिमा। राजदूत भएर डा. दुबसु क्षेत्री बेलायत आएपछि यहाँको नेपाली साहित्यको गतिविधि अलि बढेको महसुश गरिएको छ। मुलतः गर्नु पर्ने कामहरू धेरै छन्, त्यसैले विभिन्न बहाना र परिस्थितिहरू सिर्जना गरेर रोक्न नखोज भन्ने भावना सम्प्रेषित छ उनको कवितामा। कवि क्षेत्री लेख्छन्–
यो सम्साँझमै
म तिम्रो अँगालोमा बाँधिन चाहन्नँ
मेरो गन्तव्य धेरै टाढा छ
मेरो यात्रा धेरै बाँकी छ
अहिले नै विश्राम गर्न चाहन्नँ
म अहिले तिमीसँग समागम गर्न चाहन्नँ।
त्यस्तै यस कृतिमा अर्कराज तिम्सिना, मदन पौडेल, विनोद अधिकारी, नारायण कँडेल, गीता खरेल, ओमकार अधिकारी, कुमार के. सी., गोपाल शाही ‘पथिक’ (गोशाप), निर्मला न्यौपाने, कुमार जोशी, विष्णु न्यौपाने, नारद भण्डारी, दीप गिरी, विदित न्यौपाने, शक्ति घिमिरे, गोकुल भण्डारी, दुष्यन्त भट्टराई, मनीष कुमार श्रेष्ठ, सुष्मा प्रसाई खरेल, रामप्रसाद घिमिरे, रेशम अर्याल, ललित कुमार न्यौपाने, संगम भण्डारी, रोषा प्रसार्इं भण्डारी, गोपी सापकोटा, भूपेन्द्र घिमिरे र कृष्ण पहारीका कविताहरू रहेका छन्।
समालोचक डा. नेत्र एटमले ‘थेम्स्मा उर्लिएका अनुभूतिका छाल’ शीर्षकमा कृतिभित्रका कविताहरूको समालोचनात्मक भूमिका लेखेका छन्। डा. एटमले कविताहरूलाई सुक्ष्मरुपमा केलाएका छन्। समग्रमा हेर्दा, नेपाल छोडेर बेलायतमा रहँदा नेपालीले भोेग्ने परिस्थिति, अनुभूत गर्ने भावना समेटिएका छन् यस कृतिभित्रका कविताहरूमा। नवोदित स्रष्टाहरू विभिन्न साहित्यिक कार्यक्रममा आफ्ना रचना सुनाउन तथा आफ्ना रचना प्रकाशन गर्न आतुर हुन्छन्। उनीहरू त्यो अवसर खोजिरहेका हुन्छन्। साहित्य चौतारी युकेले त्यही अवसर जुटाएको छ। त्यो एउटा प्रसंशनीय कार्य हो।